बाँकेको नेपालगन्ज मेडिकल कलेजमा बेलाबखत अनौठा घटना घटिरहन्छन । कतिपय घटनामा अस्पताल प्रशासनको कमजोरीका कारण अस्पताल विवादित समेत बन्दै आएको छ । यसैबिच शनिबार पुन नयाँ घटना बाहिर आएको छ ।
शिक्षण अस्पताल नेपालगन्जको लापरवाहीका कारण शनिबार बिहानदेखी नेपालगन्ज कोरियनपुरका स्थानियहरु आतङ्कीत भए । अस्पतालको ठिक पछाडी रहेको आँपको बगैचामा शनिबार बिहान मान्छेको काटिएको अवस्थामा खुट्टा देखिएपछि स्थानीयहरु त्रसित भएका थिए ।
रगत लतपत्तिएकै अवस्थाको खुट्टा देखिएपछि कसैको हत्या भएको आशंकाले स्थानियहरु त्रसित भएका हुन । बिहानै सर्वसाधारणले काटिएको खुट्टा देखेपछि प्रहरीलाई खबरलाई गरेका थिए । घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उक्त घटनाको बारेमा अनुसन्धान गर्दा आश्चर्यको कुरा खुल्न आयो ।
प्रहरीका अनुसार उक्त खुट्टा कुकुरले अस्पतालबाट आँप बगैचासम्म पुर्याएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार सडक दुर्घटनामा घाईते भएका एक ब्यक्तिको अप्रेशनका क्रममा उक्त खुट्टा काटिएको थियो । शुक्रबार भन्सार कार्यालय नजिकै भारतीय टेलर गाडीले किचेर गम्भीरघाईते भएका सुर्खेत लाटीकोइलीका ६५ वर्षीय रामबहादुर चौधरीलाई उपचारकालागि नेपालगन्ज मेडिकल कलेजलगिएको थियो । भारतबाट फलाम बोकेर नेपालगन्ज भन्सारमा आएको एन एल ०१ ए ए २३९७ नम्वरको टेलर गाडीले चौधरीको हात र खुट्टा कुल्चेको थियो । उपचारका क्रममा उनको शल्यक्रियापछि खुट्टा काटियो । काटेर डसबीनमा फालिएको उक्त खुट्टा कुकुरले बोकेर बगैचा पुर्याएको प्रहरीले निश्कर्ष निकालेको छ ।
अस्पतालले अप्रेशन गरेर काटेको अंगको उचित ब्यवस्थान नगर्दा यस्तो घटना घटेको प्रहरीले जनाएको छ । सामान्य डसबीनमा राखिएको खुट्टा कुकुरले बोकेर हिडेपछि स्थानियहरु त्रसित भएका थिए ।
२३ श्रावण २०७८, शनिबार १४:२७ प्रकाशित