आर्थिक वर्ष २०७७-०७८ को असार महिनामा मात्रै २८.२४ प्रतिशत बजेट खर्च गरेको कोहलपुर नगरपालिकामा निर्माण गरिएका विकास निर्माण कार्य गुणस्तरहीन भएको पाइएको छ । आर्थिक वर्षको अन्त्यतिर अनपेक्षित रुपमा बजेट खर्च गरेको नगरपालिका अन्तर्गत विभिन्न वडामा गरिएका विकास दिगो नभएको पाइएको हो । विनियोजित रकम सक्न कै लागि हतारमा निर्माण गरिएको विकास निर्माण कार्य गुणस्तर भएको प्रत्यक्ष उदाहरण हो, वडा नम्बर ६ बाटो कालोपत्रे योजना ।
लगातार दुई आर्थिक वर्ष क्रमागत योजनाका रुपमा नगरपालिकाको रातो किताबमा समावेश भएको योजनाको यहीँ असार महिना कालोपत्रे गरिएको थियो । तर कालोपत्रे गरेको १ महिना पनि नबित्दै कालोपत्रे बीच-बीचमा उप्किन थालेको छ । सडकको बीचमा पीच चिराचिरा पर्नुका साथै छेउतिरपनि उप्किन थालेको हो । यो बाटो निर्माणको लागि कोहलपुर नगरपालिकाले क्रमागत योजनाका रुपमा यस बाटोलाई वर्षेनि मोटो रकम विनियोजन गर्दै आएको छ ।
जुन उप-मेयर सन्जुकुमारी चौधरीको गृह वडा समेत हो । सडक निर्माणदेखि कालोपत्रे गर्नेबेलासम्म वडा नम्बर ६ सँग कुनै पनि सहकार्य नगरेर मनोमानी रुपमा निर्माण गरेको पाईएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ४ सय मिटर बाटो निर्माण गर्ने लक्ष्य अनुसार राजस्व बाँडफाँड शीर्षक अन्तर्गत ४५ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।
उक्त वर्ष सडक निर्माणको काम नै नभएको वडा नम्बर ६ ले जनाएको छ । फेरि आर्थिक वर्ष २०७७/०७८ मा पनि क्रमागत योजना कै रुपमा आन्तरिक स्रोत शीर्षकमा कुल २७ लाख ८१ हजार ९ सय २७ रुपैयाँ विनियोजना गरिएको रातो किताबमा उल्लेख छ । सडक निर्माण तथा कालोपत्रेका लागि टेन्डर प्रक्रिया मार्फत न्यौपाने कन्ट्रक्सनले जिम्मा लिएको थियो । यही निर्माण कम्पनीले नै आर्थिक वर्षको अन्त्यतिर असार महिनामा हताहतारमा कालोपत्रे गरेको हो । अहिले समस्या देखिएको क्षेत्रमा गत जेष्ठ दोस्रो सातादेखि असार मसान्तसम्म काम गरिएको थियो ।
जुन कालोपत्रे १ महिना नबित्दै उप्किन थालेको छ । यो सडक त्रिभूवन मावि हुँदै वडा नम्बर ६ को थारु गाउँसम्म जोडिन्छ । असार महिनामा उक्त बाटो अन्तर्गत पशुपतिटोल, वडा नम्बर ६ को कार्यालय हुँदै जुम्लीटोलसम्म कालोपत्रे गरिएको थियो । अहिले उक्त क्षेत्रका कालोपत्रे बीचमा उप्किन थालेको छ । छेउछाउमा समेत हातले छुदाँ समेत उप्किन्छ । ६ मिटर सडक निर्माण गरिने भनेपनि त्यसो नभएको वडा नम्बर ६ ले जनाएको छ ।
वडा नम्बर ६ का अध्यक्ष रामशरण थारु त निर्माण गर्ने बेलामा वडा कार्यालयले रोक्न खोज्दा खोज्दै जबरजस्ती निर्माण गरिएको बताउँछन् । उनका अनुसार वडा कार्यालयसँग कुनै समन्वय नै नगरी उप-मेयर चौधरीको दबाबमा गुणस्तरहीन कालोपत्रे गरिएको हो । उप-मेयर चौधरी कै दबाबमा ठेकेदार कम्पनी मात्रै होइन काम गर्ने मुल्छीले समेत वडा कार्यालयलाई बेवास्ता गरेको अध्यक्ष थारुले आरोप लगाएका छन् ।
‘वडाको समृद्धिसँग जोडिएको योजनामा लापरबाही भयो । उप-मेयरले नै वडा कार्यालयलाई बेवास्ता गर्नुभयो । अहिले योजना पनि राम्रो भएन । राज्यको पैसा पनि बचेन कालोपत्रे गरिएको धेरै ठाउँमा समस्या देखिएको छ ।’, वडा अध्यक्ष थारुले भने ।
अनुगमन समितिकी संयोजक समेत रहेकी उप मेयर चौधरी भने वडा समृद्धिको लागि निर्माण गरिएको सडक भएको बताउँछिन । उनका अनुसार यो सडक आर्थिक वर्ष २०७४/०७५ देखि निरन्तर सडक निर्माण भइरहेको छ । यो सडक अन्तर वडा जोड्ने योजना समेत भएको उनको भनाइ छ । सडक निर्माणको क्रममा अहिले देखिएको समस्या वडा र ठेकेदार कम्पनीका कारण भएको उनले बताइन् । पछिल्लो समय निर्माण गरिएको कालोपत्रेमा अनुगमनको क्रममा आफूले रोक्न निर्देशन दिएको उनले जानकारी दिइन् ।
‘अनुगमनको क्रममा मैले काम रोक्न भनेकी थिए । तर काम भएको पाइएको छ । फेरि अनुगमन गर्दा पनि काम राम्रो छैन ।त्यसको लागि हामीले ठेकेदारलाई फेरी निर्माण गर्न भनेका छौँ ।’ उनीले भनिन ।
काम सम्पन्न भएपनि राम्रो नभएकाले भुक्तानी समेत रोकीएको उनको भनाइ छ । वडा अध्यक्षले थारुले लगाएको आरोप भने उनले अस्वीकार गरेकी छन् ।
यस्तै कोहलपुर नगरपालिकाका इन्जिनियर बालकृष्ण महताराले समेत उक्त बाटोमा धेरै ठाउँमा कालोपत्रे राम्रो नभएको पाइएकोले अनुगमन गरिएको बताएका छन् । पानी परिरहेको बेला काम गरेकोले समस्या आएको उनको भनाइ छ । निर्माण गर्दा ६ मिटर बनाउने भनिएपनि कुनै ठाउँमा चौडाइ कम भएकोले समस्या देखिएको उनले जानकारी दिए । उनले पनि निर्माण कम्पनीलाई सबै भुक्तानी नभएको बताएका छन् ।
यता न्यौपाने कन्ट्रक्सनका बसन्त न्यौपानेले उक्त सडक खण्ड गुणस्तरीय बनेको दाबी गरेका छन् । उनले सडक कालोपत्रे गर्दा नगरपालिकादेखि वडाका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागितामा काम सम्पन्न गरेको बताए । उनका अनुसार ४ सय मिटर भन्दा बढी सडकमा गुणस्तर अनुसार काम भइरहेको छ । तर असारमा गरिएको कालोपत्रेमा बाटो अन्तर्गत केही मिटरमा समेत समस्या देखिएको उनी स्वीकार गरे ।
‘हामीले धेरै राम्रो काम गरेका छौँ । केही ठाउँमा समस्या देखिएको छ । हामीलाई फसाउन खोजेको देखिन्छ । त्यो ठूलो समस्या पनि होइन । बनाउन सकिन्छ ।’ उनले भने । उक्त बाटोमा असारमा निर्माण गरिएको कालोपत्रेमा अधिकांश ठाउँमा त्यस्तो समस्या देखिएको छ । मिसन टुडेबाट
२१ श्रावण २०७८, बिहीबार ११:२३ प्रकाशित