सरकारमा सहभागी नहुने नेपाल पक्षको निष्कर्ष
  • काँचुली खबर

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् ।

‘तत्काल सरकारमा सहभागी हुदैनौं । सरकारमा सहभागी हुन शेरबहादुर देउवालाई विश्वासको मत दिएको होइन’, नेपाल निकट नेता बेदुराम भुसालले भने ।

सत्तारुढ गठबन्धनले माधव नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नेपालसँग लगातार संवाद गरी सरकारमा आउन आग्रह गरिरहेका छन् ।

बिहीबार बिहान मात्रै प्रचण्ड माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए । तर नेता नेपालले तत्काल सरकारमा सहभागी नहुने बताएका छन् । ३ साउनमा प्रधानमन्त्री देउवालाई नेता नेपालसहित एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए ।

‘सबैको कुरा सुन्नुपर्छ । अहिले हामी एकतावद्ध एमालेको पक्षमा रहेकाले सरकारमा सहभागी हुन सकिदैन’, नेता नेपालले सांसदहरुसँग भनेका थिए ।

‘सरकारमा सहभागी हुने च्याप्टर तत्काललाई बन्द भयो । हामीले गठबन्धनका नेताहरुलाई भनिसकेका छौं’, अर्का नेता रघुजी पन्त भन्छन् । विश्वासको मत दिएपछि नेता नेपालले आफू निकट नेताहरुसँग लगातार छलफल गरिरहेका छन् । स्थायी कमिटी, विश्वासको मत दिने सांसदहरु, जनसंगठनका नेता लगायतसँग छलफल गरिसकेका नेता नेपालले केन्द्रीय कमिटी बैठक राख्ने तयारी गरेका छन् ।

बुधबार दिउँसो २२ सांसदसँग छलफल राखेका थिए । उक्त छलफलमा नेता नेपालले सरकारमा सहभागी हुन नसकिने जानकारी सांसदहरुलाई दिएको नेता बेदुराम भुसालले बताए ।

  • १४ श्रावण २०७८, बिहीबार १८:२८ प्रकाशित
  • Nabintech