बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकाले स्थानीय कृषक समुहहरुलाई उन्नत जातको बोयर बोका उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ, उपाध्यक्ष दिपा गौतम र प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदिले मंगलबार स्थानीय कृषक समुहलाई अस्ट्रेलियन बोयर जातका बोका हस्तान्तरण गरेका हुन ।
मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम अन्तरगत प्रति बोका २ लाख ५० हजारका दरले उन्नत जातको बोयर बोका खरिद गरिएको गाँउपालिकाले जनाएको छ । जसमध्ये गाँउपालिको प्रतिबोका १ लाख अनुदान र कृषकले ब्यक्तिगत रुपमा १ लाख ५० हजार बेहोर्ने गरि अनुदानको बोका उपलब्ध गराईएको हो ।
गाँउपालिकाले नमुना बाख्रा पालन फर्म, शान्तिक्षेत्री पशुपालन फार्म, रोजिना बाख्रा पालन फार्म, धनलक्ष्मि बाख्रा फार्म, पन्चासे बोयर बाख्रा फार्म, आचार्य एकीकृत कृषि फार्म र पर्बत बहुउद्देश्यीय कृषि फार्मलाई बोयर बोका उपलब्ध गराएको जनाएको छ ।
गाँउपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठका अनुसार धान उत्पादनकालागि अग्रणी स्थानमा रहेको बर्दियालाई कृषिमा आत्मनिर्भर बनाउन स्थानिय कृषकहरुलाई पशुपालनतर्फ अग्रसर गराउने उद्धेश्य गाँउपालिकाको रहेको छ । ‘आगामी दिनहरुमा यहाँका कृषकलाई ब्यवसायिक कृषि तथा पशुपालनमा आत्मनिर्भर बनाउनुका साथै युवाहरूलाई वैदेशिक रोजगारको विकल्प दिएर स्थानीय स्तरमै मनग्य आम्दानीको ब्यवस्था मिलाउन लागिरहेका छौं’, श्रेष्ठले भने ‘युवाहरूलाई आकर्षक रोजगारी र आय आर्जनम जोड्ने उद्धेश्यका साथ गाउँपालिकाले कृषि तथा पशुपालन गर्न चाहने युवा कृषक लक्षित कार्यक्रम गर्दै आएको छ ।’
३० असार २०७८, बुधबार १०:४५ प्रकाशित