विश्वकप छनोट फुटबल खेलमा अस्ट्रेलियासंग नेपाल ३-० गोलले पराजित
  • काँचुली खबर

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनौट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३ शुन्य गोल अन्तरले पराजित भएको छ ।

कुवेतको ‘जबर अल-अहमद अन्तराष्ट्रिय रंगशाला’ मा १० खेलाडीमा सिमित नेपाल र ५ पटक विश्वकप फुटबल खेलिसकेको अस्ट्रेलियाबीच भएको खेलमा नेपालले राम्रो डिफेन्डिङ गरेको थियो ।

पहिलो हाफको छैटौं मिनेटमै अस्ट्रेलियाले खेलमा अग्रता लिएको थियो। ‘फुल ब्याक’ अजीज बेहिचको क्रसमा कप्तान म्याथ्यु लेकीले हेडर गोल गर्दा अस्ट्रेलियाले खेलमा अग्रता लिन सफल भएको थियो ।

त्यसपछि पहिलो हाफको अधिकांश समय राम्रो डिफेन्डिङको नमुना प्रस्तुत गरेको नेपालले खेलको ३८औं मिनेटमा दोस्रो गोल खायो । कप्तान लेकीको पासमा डिफेन्डर फ्रान काराचिचले गोल गर्दै अस्ट्रेलियाको अग्रतालाई दोब्बर बनाएका थिए ।

त्यसतै खेलको ४५औं मिनेटमा नेपालका प्रमुख डिफेन्डर रोहित चन्दले अस्ट्रेलियाका स्ट्राइकर मार्टिन बोइललाई फल गर्दा ओमानका रेफ्रीले रोहितलाई सोझै रातो कार्ड देखाए ।

१० खेलाडीमा सिमित नेपाली टोलीलाई बलियो टोली अस्ट्रेलियाविरुद्ध दोस्रो हाफको खेल निकै चुनौतीपूर्ण रहने निश्चित थियो । तर १० खेलाडीमा सिमित रहँदा पनि नेपालले अस्ट्रेलियाविरुद्ध दोस्रो हाफमा राम्रो डिफेन्डिङ गर्यो ।

यद्यपि खेलको ५७औं मिनेटमा अष्ट्रेलियाका स्ट्राइकर मार्टिन डोइलले अस्ट्रेलियाको अग्रतालाई तेब्बर बनाए। उनले ज्याक्सन इरविनको पासमा गोल गर्दा अस्ट्रेलियाले खेलमा ३ शुन्य गोलको अग्रता लिएको हो ।

खेलको अधिकांश समय अस्ट्रेलियाको टोलीले बल पोजिसनमा कब्जा जमाउन सफल भयो । लगभग ७० प्रतिशत पोजिसन आफ्नो पक्षमा पारेको अस्ट्रेलियाले खेलमा कुल २८ शट प्रहार गर्यो । कप्तान किरण चेम्जोङले खेलमा उत्कृष्ट बचाउहरु गरे । अस्ट्रेलियाले १२ शट अन टार्गेटमा प्रहार गर्दा किरणले ९ पटक सफल बचाउ गरेका थिए ।

नेपालका लागि खेलको ६१औं मिनेटमा मैदान प्रवेश गरेका मनिष डाँगीले केही अवसरहरु सिर्जना गर्ने प्रयास गरे । तर विश्व वरियतामा ४१औं स्थानमा रहेको अस्ट्रेलियाको अगाडि नेपालले फलदायी अवसर बनाउन सकेन । नेपालका लागि आयुष घलान, सुरज जिउ ठकुरी र कमल थापाले डेब्यू गरे । खेलको ९०औं मिनेटमा नेपालका युवा खेलाडीहरुले डेब्यू गर्ने मौका पाएका हुन् ।

एसियाली पावर हाउस अस्ट्रेलियाविरुद्ध नेपालले पहिलो लेगमा ५ शुन्य गोल अन्तरको हार बेहोरेको थियो। आजको खेलमा भने नेपालले राम्रो खेल खेलेको भन्न मिल्ने खेल समिक्षकहरु बताउँछन ।

  • २९ जेष्ठ २०७८, शनिबार ०७:४५ प्रकाशित
  • Nabintech