लकडाउनका कारण मारमा परेका अति विपन्न र अपांगता भएका व्यक्तिहरुका लागि समाज सेवा संस्था नेपाल बाँके राहत सहयोगमा जुटेको छ । लकडाउनका कारण चुल्हो बाल्न मुस्किल परेका विपन्न वर्गका नागरिकहरु तथा अपांगता भएका व्यक्तिहरुका लागि बाँकेको कोहलपुर १४ हवलदारपुरमा रहेको संस्थाले विभिन्न संघसंस्था र व्यक्तिहरुसँग समन्वय गरि राहतको व्यवस्थापन गर्दै आएको छ ।
संस्थाले संचालन गरेको ‘अपांगता तथा अति विपन्न सहयोग’ अभियानमा बाँकेको कोहलपुरमा रहेको जीवनज्योति स्कुलले सहयोग गरेको छ । स्कुलले पहिलो चरणमा ४० हजार बराबरको ३० बोरा चामल सहयोग गरेको थियो । स्कुलको सहयोग चौतर्फी रूपमा प्रशंसनीय भएपछि स्कुलले पुनः ७० हजार बराबरको थप ५० बोरा चामल सहयोग गरेको र उक्त सहयोग कोरोना भाइरसका कारण लकडाउनले हात मुख जोड्न गाह्रो भै दयनीय अवस्था भएकाहरुलाई वितरण गरिएको संस्थाका अध्यक्ष बिनोद थापाले जानकारी दिए ।
‘हाम्रो संस्था सामाजिक संस्था हो । लकडाउनका कारण कोहि भोकै मर्ने अवस्था नआओस् भनेर विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोगमा अभियान जारी राखेका छौँ ।’ अध्यक्षले थपाले भने, ‘हाम्रो अभियानमा सहयोग गर्न सबैलाई आग्रह गर्दछौं ।’
हालसम्म ३१ जनालाई राहत वितरण गरिसकेको र सो क्रम जारी रहेको संस्थाले जनाएको छ ।
संस्थाले सुरु गरेको अभियानमा संस्थाका कानुनी सल्लाहकार तथा अधिवक्ता लोक बहादुर शाहले १० हजार, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा कार्यरत रुक्मिना काफ्लेले ५ हजार सहयोग गरेका छ्न । यस अघि बास नेपाल नेपालगन्जको सहयोगमा प्राप्त भएको ६१९ थान मास्क समेत संस्थाले वितरण गरिसकेको जनाएको छ ।
२१ जेष्ठ २०७८, शुक्रबार १४:५० प्रकाशित