सीसीएमसीको प्रमुखमा बालानन्द शर्मा नियुक्त
  • काँचुली खबर

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको स्रोतले पुष्टि गरेको छ ।

पूर्वरथी शर्माले नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर पनि काम गरेका थिए । अब उनले कोरोना संक्रमण नियन्त्रणको योजना बनाउने र सरकारबाट अनुमोदन भएका योजनालाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि पाएका छन् ।

शर्माले सीसीएमसीको प्रमुखका साथै प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको सदस्य सचिवको जिम्मेवारी पनि सम्हाल्नुपर्ने छ । निर्देशक समितिको सदस्य सचिव सीसीएमसीको प्रमुख हुने व्यवस्था छ ।

यसअघि निर्देशक समितिको प्रमुखमा उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए । हालै पोखरेललाई सो जिम्मेवारीबाट अलग गरेर प्रधानमन्त्री केपी शर्मा ओली आफैंले निर्देशक समितिको नेतृत्व गर्दै आएका छन् ।

निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य छन् ।

  • ११ जेष्ठ २०७८, मंगलवार ०७:५९ प्रकाशित
  • Nabintech