विपक्षी गठबन्धनको संयुक्त बैठक बस्दै
  • काँचुली खबर

विपक्षी गठबन्धनको संयुक्त बैठक बस्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेसँगै संयुक्त बैठक बस्ने भएको हो ।
बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा शनिबार बिहान ११ बजे बस्न लागेको स्रोतले जनाएको छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले) माधव कुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चा सहभागि हुने छन् । उक्त गठबन्धनले शुक्रबार कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गरेको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सरकार गठनका लागि दाबी पेस गरेका थिए । तर, राष्ट्रपतिले दुवैको दाबी नपुगेको भन्दै प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचनको मिति तोकेकी छिन् ।
राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान समाप्त पार्न लागेको भन्दै यो गठबन्धनले प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

  • ८ जेष्ठ २०७८, शनिबार १०:३५ प्रकाशित
  • Nabintech