तस्करीका सामान खोज्दा पेस्तोल भेटियो
  • काँचुली खबर

तस्करीको सामान लुकाएको आशंकामा गोदाममा छापा मार्न पुगेको राजस्व अनुसन्धान कार्यालयको टोलीले कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको छ ।

विराटनगरका राजकुमार रौनियारले सञ्चालन गरेको गोदामबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ ।

तस्करीको कपडा र हार्डवेयरका सामग्री लुकाएको आशङ्कामा राजस्व अनुसन्धान र प्रहरीको टोली आइतबार साँझ विराटनगर-७ धाडेवा रोडमा रहेको गोदाममा पुगेको थियो । गोदाममा छापा मार्ने क्रममा कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

पेस्तोल भेटिएपछि गोदामका कामदार इटहरी उपमहानगरपालिका १७ घर भई विराटनगर बस्दै आएका २४ वर्षीय सुजितकुमार साहलाई पक्राउ गरिएको उनले बताए ।

प्रहरी स्रोतका अनुसार रौनियारले आफूसँग कारोबार गर्ने व्यक्तिलाई तर्साउनका लागि पेस्तोल राखेको बताएका छन् । तर पेस्तोल भेटिएपछि सुजित कुमार साहले आफूले नै राखेको स्वीकार गरेका थिए । ‘रानीमा पेस्तोल भेटेपछि ल्याएर राखेको साहको तर्क छ’ प्रहरी स्रोत भन्छ, ‘रौनियारको कारोबार पारदर्शी छैन, आफ्ना कारोबारीलाई तर्साउनका लागि रौनियारले नै राखेको आशङ्का छ ।’

पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए ।

  • १३ बैशाख २०७८, सोमबार ११:३९ प्रकाशित
  • Nabintech