युवा व्यवसायी शाहद्वारा भेरी अस्पताललाई १ लाख बढी आर्थिक सहयोग
  • काँचुली खबर

नेपालगन्जमा कोरोना संक्रमण बढ्दै जाँदा भेरी अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई अक्सिजनको कमि हुन नदिनका लागि नेपालगन्जका युवा व्यवसायी संगम शाहले शनिबार अस्पताललाई एक लाख बढी रकम सहयोग गरेका छन ।
कोरोना उपचारमा अक्सिजन अभाव नहोस् भन्दै स्थायी घर दाङ भएका हाल नेपालगन्ज निवासी समाजसेवी एवं सफल युवा ब्यवसायी संगम शाहले बाँकेमा बढ्दो कोरोना संक्रमितको उपचारको लागि आवश्यक पर्ने सिलिण्डरमा प्रयोग हुने अक्सिजन खरिदकालागि आज १  लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन ।
शाहले उक्त रकमको चेक भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाश थापालाई हस्तान्तरण गरेका छन । यसअघि पनि शाहले गत बर्ष अस्पताललाई ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।
अस्पतालमा अक्सिजनको अभाव हुन नदिन सहयोगी दाताहरुले आर्थिक सहयोग गर्ने कार्य जारी छ । आज दिउँसो मात्रै राष्ट्रिय युवा संघ बाँकेले १ लाख ३२ हजार ५ सय ७० रुपैयाँ अस्पताललाई सहयोग गरेको थियो ।

  • ११ बैशाख २०७८, शनिबार १८:४८ प्रकाशित
  • Nabintech