फाइल फोटो
बाँकेमा कोरोना संक्रमणको दर बढेसङ्गै संक्रमितको मृत्यु हुने दर पनि बढिरहेको छ । शनिबार दिउँसो थप एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको छ ।
खजुरा गाउँपालिका वडा नम्बर २, बाँकेकी ७२ बर्षिया कोरोना संक्रमित महिलाको उपचारका क्रममा भेरी अस्पतालमा शनिवार दिउँसो ४:२० बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
मृतक महिलालाई गत बैशाख ७ गते नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालामा कोरोना जाँच गर्दा संक्रमण पुष्टि भएको थियो । तत्पश्चात उनि होम क्वारेन्टाइनमा बसेको र स्वास्थ्यमा समस्या आएपछि शुक्रबार भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएकी थिइन । उपचारकै क्रममा आज दिउँसो उनको भेरी अस्पतालमा मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए ।
योसङ्गै बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७८ पुगेको छ ।
उपचारकै क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० की ६१ बर्षिया एक महिला र वडा नम्बर १२ की अर्की एक ५५ बर्षिया कोरोना संक्रमित महिलाको उपचारका क्रममा भेरी अस्पतालमा शनिवार बिहान मृत्यु भएको थियो ।
११ बैशाख २०७८, शनिबार १७:४० प्रकाशित