५० हजार र ११ वर्षिया छोरीसहित श्रीमती बेपत्ता
  • काँचुली खबर

प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ६, सिमलचौरकी एक युवती ५० हजार नगद रकम र ११ वर्षिया छोरीसहित केहिदिन अघिदेखि बेपत्ता हुँदा उनका श्रीमान तनावमा परेका छन ।

ऐरावती गाउँपालिका वडा नम्बर ६, सिमलचौर निवासी २८ वर्षिया सीता नेपाली उक्त रकम र ११ वर्षिया छोरी अस्मिता नेपालीसहित गत चैत २८ गतेदेखि घरबाट बेपत्ता भएको उनका श्रीमान श्याम नेपालीले जानकारी दिए ।

श्यामका अनुसार, उनकी श्रीमती सीता चैत २८ गते बिहान करीब ८ बजेतिर घर सरसल्लाह गरी औषधि उपचार गर्नकालागि स्थानिय चुँजाठाटी बजार जान्छु भनि घरबाट निस्केकी थिईन । साँझ पर्दासम्म श्रीमती घर नफर्केपछि आफन्त र छरछिमेकमा खोजी गर्न हिंडेको तर अहिलेसम्म फेला नपरेको श्यामले बताए ।

‘औषधि गर्न चुँजाठाटी जान्छु, अरु पनि अलिअली काम छ, बेलुका अलि ढिला फर्किन्छु भनेर घर सरसल्लाह गरेर छोरी लिएर बिहान ८ गजेतिर गईन । रातीसम्म नफर्केपछी माइती तिर पो गईन की भनेर राती ससुराली (भुमेकास्थान नगरपालिका वडा नम्बर १, गिठ्ठाखोला अर्घाखाँची) पुगें तर उ त्यहाँ थिएन ।’ श्यामले भने, ‘ससुरालीमा सासुलाई २८ गते दिउँसो १२/१ बजेतिर फोन गरेकी रहिछे, म ठिकै छु । मलाई फोन नगर्नु, काम परे म आफै फोन गर्छु भनेकी थिइ रे !’

बेपत्ता भएपछि अहिलेसम्म सिताको मोबाइल बन्द रहेको र आफू खोजतलास मै हिडिरहेको उनले बताए । स्थानीय चुँजाठाटी प्रहरी चौकीमा पनि बेपत्ता श्रीमती र छोरीको खोजतलासका लागि हुलियासहितको निवेदन दिएको श्यामले जानकारी दिए ।

चुँजाठाटी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामबहादुर रानाले चैत २९ गते श्याम नेपालीले श्रीमती र छोरी हराएको भन्दै खोजि गरिदिनका लागि फोटोसहितको निवेदन दिएको र आफुले उक्त फोटोसहितको निबेदन जिल्ला प्रहरी कार्यालयमा पठाएको जानकारी दिए । चुँजाठाटी प्रहरी चौकीबाट पनि खोजतलास जारी राखेको तर हालसम्म फेला नपरेको उनले बताए ।

कामका लागि भारतको जलन्धरमा आफू रहेको अवस्थामा घरबाट श्रीमतीले आफ्नो खुट्टा भाँच्चिएको छ भनेर घरमा बोलाएको तर उनलाई केही नभएको श्यामले बताए । श्रीमतिले फोन गरेपछि आफू घर आएको आज ११/१२ पुगेको उनले बताए ।

‘रोजगारीकालागि भारतको जलन्धरमा म काम गर्न गएको थिएँ, आउने जाने भैरहेको थियो । अहिले ५ महिना मात्र भएको थियो म काममा गएको । मलाई फोन गरेर मेरो खुट्टा भाँचिएको छ छिट्टै घर आउनुस भनेर श्रीमतीले फोनमा भनिन । म घर आएँ तर उनी सन्चै थिईन, उनलाई केहि भएको थिएन ।’ श्यामले भने ।

भारतबाट आफू आउँदा ल्याएको नगद २४/२५ हजार र घरमा रहेको भैंसी बेचेको २३/२४ हजार गरेर झन्डै ५० हजार रुपैयाँ पनि श्रीमतिले लगेर बेपत्ता भएको श्यामले दुखेसो पोखे ।

‘घरमा एउटा भैंसी थियो, उसले अब भैंसी पाल्न सक्दिन बरु बाख्रा पालम भनीन । मैले पनि उनको कुरा सुनेर भैंसी बेचिदिएँ । बाख्राको खोर बनाउन लागें तर भारतबाट ल्याएर राख्न दिएको रुपैयाँ र भैंसी बेचेको रुपैयाँ समेत गरेर ५० हजार जति लगेर बेपत्ता भईन ।’ श्यामले भने ।

श्रीमती र छोरी हराएदेखि आफू तनावमा रहेको तथा अहिलेसम्म खोजतलास गर्दापनि केही पत्ता नलाग्दा झनै दुखी भएको उनले बताए । उनले श्रीमती र छोरीको फोटो हेरेर खोजी गरिदिनका लागि सबैसँग आग्रह गरेका छ्न । कतै भेटिएमा ९८४७९७४३७३ नम्बरमा सम्पर्क गरिदिन तथा नजिकको प्रहरी चौकीमा खबर गरिदिन उनले अनुरोध गरेका छन ।

  • ३ बैशाख २०७८, शुक्रबार १७:२७ प्रकाशित
  • Nabintech