बाँकेको नेपालगन्जसँग जोडिएको नेपाल भारत सिमा नाका जमुनाह हुँदै नेपाल प्रवेश गरेका विभिन्न जिल्लाका १५ जना नेपालीहरुमा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । भारतका विभिन्न राज्यका सहरमा रोजगारीका शिलशिलामा पुगेका र त्यहाँ दोश्रो चरणको कोभिड-१९ तिब्र गतिमा बढेपछि नेपाल फर्केका उनिहरुमा कोरोना पुष्टि भएको हो ।
भारतमा तिब्र गतिमा कोरोना संक्रमण बढेपछि त्यहाँ काम गर्ने नेपालीहरु स्वदेश फर्कन थालेपछि उनिहरुको स्वास्थ्य चेकजाँच गर्नकालागि नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले गत चैत ११ गतेदेखि जमुनाह नाकामा हेल्थ डेस्क स्थापना गरी नेपाल आउनेहरुको ज्वरो नाप्ने तथा शंकास्पद देखिएमा एन्टिजिन प्रबिधि मार्फत कोरोनाको चेकजाँच गर्दै आएको छ ।
गत चैत ११ गतेदेखि शुरु गरिएको हेल्थ डेस्कमा बैशाख ३ गते दिउसो १२ बजेसम्ममा १ सय ९४ जनामा एन्टिजिन प्रबिधिमार्फत कोरोना जाँच गर्दा विभिन्न जिल्लाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जमुनाह हेल्थ डेस्कका इन्चार्ज केशव ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीका अनुसार चैत ११ गतेदेखि हालसम्म ६ हजार ५ सय १७ पुरुष, १ हजार ८ सय ६१ महिला र ७ सय ५९ बालबालिका गरी ९ हजार १ सय ३७ जना भारतबाट नेपाल आएका नेपालीहरुको ज्वरो जाँच गरिएको छ । त्यसैगरी, शंकास्पद १ सय ९४ जना व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना देखिएको हो ।
संक्रमित सबैजना पुरुष रहेका छन । उनिहरु मध्ये, १ जना रोल्पा, ३ जना बर्दिया, ४ जना दैलेख, ६ जना बाँके र १ जना सुर्खेतका रहेको स्वास्थ्य इन्चार्ज ज्ञवालीले जानकारी गराए । हेल्थ डेस्कको रेकर्ड अनुसार उनिहरु भारतको पन्जाव, महाराष्ट्र र गुजरातबाट नेपाल आएका हुन ।
भारतमा कोरोना संक्रमण बढेसङ्गै नेपाल फर्किएकाहरुबाट नेपालमा पनि कोरोना संक्रमण तिब्र गतिमा फैलिएको पाइएको छ । जस्को असर बाँकेमा पनि देखिइसकेको छ । भारतसङ्ग सिमा जोडिएको जिल्ला र मुख्य नाका तथा खुल्ला सिमा भएका कारण यताबाट उता र उताबाट यता आउनेहरुबाट संक्रमण बढ्ने गरेको पाइएको हो ।
यसैलाई मध्येनजर गर्दै जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले शुक्रवारदेखि स्वास्थ्य उपचार लगायतका अत्यावश्यक काम बाहेक किनमेल लगायतका अन्य काम प्रयोजनका लागि नेपालीहरुलाई भारत जानमा पुर्ण रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।
३ बैशाख २०७८, शुक्रबार १३:५५ प्रकाशित