इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फेब्रुअरी १८ मा हुने अक्सनमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आफ्नो मूल्य न्युनतम ४० लाख भारतीय रुपैयाँ तोकेका छन् ।
इन्डियन प्रिमियर लिग (आइपिएल) ले अक्सनमा सहभागी हुने सबै खेलाडीको न्यूनतम मूल्य सार्वजनिक गरेको छ । जसमा सन्दीपले आफ्नो मूल्य ४० लाख रुपैयाँ राखेका छन् । अक्सनमा कुल २ सय ९२ खेलाडी जाने भएका छन् । यसअघि सुरुवाती समय अक्सनमा कुल १ हजार ९७ खेलाडीले नाम दर्ता गराएका थिए ।
नेपालका ८ खेलाडीले नाम दर्ता गराएका थिए । सन्दीपबाहेक ७ मा सात जना अन्तिम अक्सन लिष्टबाट हटाइएका छन् । दीपेन्द्रसिंह ऐरी, विकेटकिपर विनोद भण्डारी, अलराउन्डर करण केसी, सोमपाल कामी, कुशल मल्ल, ब्याट्सम्यान शरद भेषावकर र अभिनास बोहराको नाम अक्सन लिस्टमा भने अटाएको छैन ।
यसअघिका तीन संस्करण सन्दीपले दिल्ली क्यापिटल्सबाट खेलेका थिए । तर सन् २०२० मा पुरै खेलमा बेन्चमा राखेको दिल्लीले सन्दीपलाई तीन वर्षे सम्झौता अनुसार फुकुवा गरेको थियो । सन्दीपले दिल्लीबाट तीन सिजन विताउँदै कुल ९ खेलमा १३ विकेट लिए ।
सन् २०१८ मा ३ खेलमा ५ र २०१९ मा ६ खेलमा ८ विकेट लिएका थिए । सन्दीपलाई दिल्लीले सन् २०१८ मा न्युनतम मूल्य ३२ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो ।
२९ माघ २०७७, बिहीबार २२:४९ प्रकाशित