निगरानीका नाममा भेरी अस्पतालमा हंगामा
  • काँचुली खबर

आफूलाई भ्रष्टाचार विरोधी नागरिक अभियन्ता भन्ने ज्ञानेन्द्र शाही समूहले निगरानीका नाममा भेरी अस्पतालमा हंगामा मच्चाएका छन । सोमबार दिउँसो अस्पतालमा निगरानीका लागि पुगेको भनिएका शाही नेतृत्वको समूहले अस्पतालका डाक्टर विपिन आचार्य लगायत नर्सहरूमाथि दुव्र्यवहार गर्दै दादागिरीशैलीमा गलत हर्कत गरेको भेरी अस्पतालले बताएको छ ।

एक्कासी नर्सहरू रहेको नर्सिङ युनिटमा पसेका ज्ञानेन्द्र शाही र उनको समूहका सदस्यले विरामीको उपचार र सेवामा लागिरहेका नर्सहरूसँग विवाद गरेका थिए ।

उक्त विवाद बढेपछि नजिकै रहेका डाक्टर आचार्य सहजिकरणका लागि गएका थिए र डाक्टर आचार्यले शाही समूहले भने र सोधेअनुसार काममा सहजिकरण गरेको र उक्त समूहका एक जनाको नाम, ठेगाना लेख्दा घर कहाँको भनि सोधेका थिए ।

यस क्रममा घर जुम्ला हो भन्ने थाहा पाएपछि एए जुम्ला मात्रै भनेका डाक्टर आचार्यमाथि ज्ञानेन्द्र समूहका युवाहरूले विना कारण हातपात गरी दुव्र्यवहार गरेको डाक्टर आचार्य बताउँछन ।

उनले भने ‘नर्सहरूसँग विवाद भएपछि सहजिकरणका म गएको थिए । सहजिकरण पनि गरेको हुँ । यस क्रममा घर जुम्ला हो भनि सोधेको मात्रै थिए म माथि एक्कासी ‘जुम्ली’ भनिस भनेर हातपात गरे । कटेल्लो समातेर तानातान गरे दुव्र्यवहार गरे र जेपनि गर्ने धम्की दिए ।’ डाक्टर आचार्यका अनुसार उक्त समूहले दादागिरी मच्चाएको हो । निगरानीका क्रममा भनिएपनि यो सुनियोजित योजना जस्तै भएको छ ।

अस्पतालमा यसरी दादागिरी मच्चाएपछि मिडिया सामु ज्ञानेन्द्रले उक्त समुह आफनो नभएको बताएको प्रत्यक्षदर्शी बताउँछन । तर, बाँकेका सिडिओ रामबहादुर कुरूम्वाङको सहजिकरणमा घटना मत्थर पारिएपनि उक्त समूहका नाईके समेत रहेका भनिएका ज्ञानेन्द्र शाहीले पछिल्लो समय अस्पतालका मेसु डाक्टर प्रकाश थापालाई उक्त घटनामा संलग्न व्यक्ति र समुह आफनो भएको हुँदा घटनालाई अघि नबढाउन दबाब दिइरहेको खुलेको छ ।

अस्पतालमा विवाद भैसकेपछि त्यहाँबाट बाहिरीएको ज्ञानेन्द्र समूह र अस्पताल टीमबीच विवाद समाधानका लागि छलफल भएको असपतालका मेसु डाक्टर थापाले बताए ।

समुहका नाईके भनिएका ज्ञानेन्द्र शाहीसँग यस बिषयमा बुझन खोज्दा सम्पर्क हुन सकेन । तर, उनको समूहका प्रतिनिधी भीमहादुर शाहीले बाँके सिडिओको निर्देशनमा मालपोत र भेरी अस्पतालमा निगरानी गरेको बताएका छन । उनले भेरी अस्पतालमा घटाइएको भनिएको घटना अनाबश्यक भएको दाबी गरेका छन ।

घटना घटेपछि हाम्रो समूह त्यसमा जोडिएको भनिदा घटनाका बारे अनुसन्धान गरी दोषीलाई कारवाही गर्न सहजिकरणका लागि अस्पतालसँग छलफल भएको उनी बताउँछन । उनका अनुसार घटनापछि प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति भने ज्ञानेन्द्रकै समूहका हुन ।

अस्पतालका नर्स र डाक्टर आचार्यमाथि हातपात र दुव्र्यवहार हुँदा पनि अस्पताल प्रशासन र व्यवस्थापन समितिले यो समाचार लेख्दासम्म एउटा विज्ञप्ती समेत निकाल्न चासो देखाएको छैन ।

यता बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले घटनाका बारे अनुसन्धान भैरहेको बताएका छन । उनले अनुसन्धानपछि दोषी भेटिएको अवस्थामा जो कोही समूह र पक्षको भएपनि दोषीलाई कानूनी कारवाही गरिने बताए ।

  • १९ माघ २०७७, सोमबार १८:२९ प्रकाशित
  • Nabintech