राष्ट्रिय टोपी दिवस भव्य रुपमा मनाइने
  • काँचुली खबर

जागरुक युवा अभियान नेपालले छैठौं नेपाली टोपी दिवस भव्य रुपमा मनाउने भएको छ । अभियानले आईतबार विज्ञप्ति जारी गरी सदाझै यसवर्ष पनि नेपाली टोपी दिवस ‘नेपाली टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ मनाउन लागिएको जनाएको छ । सदियौंदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ ।

‘विश्वमा हरेक मुलुकको आ-आफ्नो मौलिक पहिचान छ । त्यसकारण हामी पनि राष्ट्रिय पहिचानको खोजीमा छौँं । त्यसका लागि हामीले विगत पाँच वर्षदेखि विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको कुरा अवगत नै छ’ विज्ञप्तिमा भनिएको छ । प्रत्येक वर्ष अङ्ग्रेजी नयाँ वर्षका दिनलाई नेपाली टोपी दिवसका रुपमा मनाउने गरिँदै आएको छ । विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न अभियानले माग गरेको छ । यसवर्ष पनि जनबरी १ (पुष १७) का दिन काठमाण्डौं लगाएत देशैभरी बिभिन्न कार्यक्रम गरी राष्ट्रिय दिवस मनाईने बताईएको छ ।

  • ८ पुष २०७५, आईतवार १८:४४ प्रकाशित
  • Nabintech