नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मधेसको राष्ट्रियताको विषयमा नेपाली कांग्रेसलाई कुनै शंका नरहेको बताएका छन् । अरु पार्टीले मधेसको राष्ट्रियताको विषयमा शंका गरेपनि कांग्रेसले सधै मधेसको वकालत गर्दै आएको उनको भनाई छ । बाँकेको नरैनापुरस्थित गंगापुरमा शनिबार आयोजित आमसभालाई सम्बोधन गर्दै कोईरालाले भने, ‘मधेसको राष्ट्रियताको विषयमा कांग्रेसलाई कुनै शंका छैन ।’
वर्तमान सरकार अलोकतान्त्रिक हुदै गएको उनले बताए । अलोकतान्त्रिक चरित्रको सरकारले जथाभावी महंगी, कर बढाएर जनताको ढाँड सेक्ने काम गरिरहेको बताए । ‘कम्युनिष्ट सरकारमा लोकतान्त्रिक चरित्र हुदैन,’ उनले भने ‘नेपाली कांग्रेसले मात्र लोकतन्त्रको पहरेदारी गरिरहेको छ ।’
सरकार गैर जिम्मेवारीका साथ प्रस्तुत भईरहेको उनको आरोप छ । ‘विगतमा भएका कमी कमजोरी हामी अब दोहोरिन दिदैनौं,’ कोईरालाले भने ‘कांग्रेसले मधेसको मुद्दालाई पहिलेदेखी उठाउँदै आएको छ, अझैपनि मधेसको पक्षमा वकालत गर्छौ ।’ नेपाल कम्युनिष्ट पार्टी र संघिय समाजवादी फोरमले मधेसका जनतालाई दास बनाईरहेको उनको आरोप छ ।
सरकारले संघियतालाई असफल बनाउन अहिलेपनि विभिन्न बहानाबाजी गरिरहेको कोईरालाले ठोकुवा गरे । ‘यदी संघियता असफल भयो भने संविधान पनि असफल हुन्छ,’ उनले भने ‘नेपाली कांग्रेस संघियता असफल हुन दिन्न ।’ यस्तै नरैनापुर गाउँपालिका वडा नम्बर १ कटकुईयामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता कोईरालाले बघौडाबासी बिजुली, शिक्षा, स्वास्थ्य, सिँचाई सुविधाबाट बञ्चित हुदै आएकोमा दुःख ब्यक्त गर्दै काठमाडौं फर्किएपछि सरकारको ध्यान आर्कषण गराउने प्रतिवद्धता जनाए । उनले पार्टी एक ढिक्का भएपछि मात्र कम्युनिष्ट सरकारसँग मुकाबिला गर्न सकिने धारणा राखे ।
आमसभामा नेपाली कांग्रेस बर्दियाका सभापति तथा पुर्व सिँचाइ मन्त्री सञ्जय गौतमले मुलुकको विकासमा नेपाली कांग्रेसको योगदान ठुलो रहेको बताए । नेपाली कांग्रेसका लागि मधेसी जनताले ठुलो त्याग, तपस्या गरेको उनको भनाई छ । कांग्रेसले मात्र मधेसी, मुस्लिम, गरिव, किसान, सुकुम्वासी, दलित, जनजातीको आवाजको सुनुवाई गर्ने पुर्वमन्त्री गौतमको जोड छ ।
कांग्रेस नेता एवम् प्रतिनिधी सभाका सांसद अमरेश सिंहले मधेसी जनतालाई झुक्याएर राजनीति गर्ने पार्टी अहिले सरकारमा बसेर मधेसीलाई नै शोषण, दमन गरिरहेको बताए । नेपाली कांग्रेस सरकारभित्र र बाहिर रहेपनि जनतालाई समान ब्यवहार गर्ने गरेको उनको जिकिर छ । कांग्रेस कमजोर भएपछि मुलुक नै कमजोर हुने सिंहले बताए । अर्का नेता मोहम्मद अप्ताव आलमले नेपाली कांग्रेस सबै जाती, भाषा, धर्मलाई समान ब्यवहार गर्ने पार्टी भएको बताए । ‘कांग्रेसले सबैलाई समान ब्यहार गर्छ,’ उनले भने ।
नेपाली कांग्रेस बाँके सभापति किरण कोईरालाले बघौडा क्षेत्रबासीलाई बिजुली, शिक्षा, स्वास्थ्य लगायत सुविधाको पहुँचमा पु¥याउन सकेमात्र यहाँका जनताको जीवन यापन सुखी हुने बताईन् । यसका लागि नेपाली कांग्रेसले बघौडाको विकासका लागि जोड दिदै आएको धारणा राखिन् । साविक क्षेत्र नम्बर २ का सभापति रामचन्द्र मौर्यको सभापतित्वमा सम्पन्न आमसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), संघिय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी परित्याग गरेर डेढ सय भन्दा बढी ब्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेको युवा नेता पोषण केसीले जानकारी दिएका छन् । कार्यक्रममा जिल्ला, क्षेत्र र राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाबाट कार्यकर्ताको ठुलो संख्यामा उपस्थिती रहेको थियो ।
९ मंसिर २०७५, आईतवार ११:१९ प्रकाशित