दाङको टरिगाउँमा फेरि परीक्षण उडान गरिने !
  • काँचुली खबर

दाङको टरिगाउँ विमानस्थलमा पुनः हवाइसेवा सञ्चालन गर्ने तयारी गरिएको छ । नियमित उडानको तयारीका लागि मंगलवार परिक्षण उडान भएको छ ।

नेपाल वायुसेवा निगमको जहाजले टरिगाउँ विमान स्थलबाट नियमित हवाई सेवा दिने गरी तयारी गरेको हो । सोहि तयारी अनुसार मंगलवार परिक्षण उडान गरिएको छ । मंगलवार नेपाल बायु सेवा निगमको नाइन एन एकेयू जहाजले परीक्षण उडान गरेको हो ।

निगमका प्रवक्ता अशोक सिग्देलले पहिलो चरणमा हप्ताको दुई दिन दाङ–काठमाडौँ उडानको तयारी गरेको बताए ।

निगमककै जहाजले परिक्षण उडान गरेकाले अब यहाँको हवाई सेवा नियमित हुने विश्वास स्थानीयमा जागेको छ । जिल्लाको हवाई सेवा हुन छाडे पछि यस क्षेत्रका नागरिकहरु नेपालगञ्ज र भैरहवा पुगेर हवाई सेवा लिन बाध्य छन् ।

वि.सं. २०११ सालमा सञ्चालन भएको विमानस्थलमा पटक पटक उडान हुँदै बन्द हुने गरेको छ । परीक्षण उडानको नाममा एक वर्षमा टरिगाउँ विमानस्थलमा दुई पटक जहाज आएको छ ।

गत माघमा पनि परीक्षण उडान गरेर केही साता हवाई सेवा सञ्चालन गरिएको थियो । त्यसको ठेक्का तुलसीपुर उपमहानगरपालिकाले लिएको थियो । तर त्यो दीर्घकालिन हुन सकेन । अहिले पनि उसकै पहलमा हवाई सेवा सुरु हुन लागेको दावी गरिएको छ ।

परीक्षण उडान सफल बनाएका निगमका पाइलटहरु क्याप्टेन आङनुरी शेर्पा, क्याप्टेन उद्धब घिमिरेले विमानस्थलमा नियमित हवाई सेवाका लागि कुनै समस्या नदेखिएको बताए ।

२०११ साल देखि सञ्चालन हुँदै आएको विमानस्थल विभिन्न कारण देखाउँदै केही वर्षदेखि नियमित उडान हुन सकेको छैन । बीचमा केही निजी विमान कम्पनीहरुले उडान भर्न थाले पनि बहाना बनाएर पछि हटेपछि निगम नै नियमित हवाई सेवामा तातिएको हो । निगमले ल्याएका साना जहाजलाई उडान नभएका एयरपोटमा नियमित उडान भर्ने बताएको छ ।

 

स्रोत : अन्नपूर्ण

  • १७ आश्विन २०७५, बुधबार २०:०८ प्रकाशित
  • Nabintech