बाँकेमा बामदेव विरुद्ध पिटरले उम्मेदवारी दिने
  • काँचुली खबर

नेकपा नेता बामदेव गौतमका लागि विभिन्न निर्वाचन क्षेत्र खाली गराउने चर्चा चलेसँगै यसको प्रतिवाद पनि सशक्तरुपमा भइरहेको छ ।

गौतमको डोल्पा, रुकुम पूर्व, प्युठान, दैलेखपछि बाँके ३ मा चर्चा चलाइएको छ । यदि यो क्षेत्रमा गौतम आए पुराना बुद्धिजीवी नेता एवं लेखक पत्रकार नरेन्द्रजङ पिटरले स्वतन्त्र उम्मेदवारी दिने भएका छन ।
‘यदि बाँके क्षेत्र नं. ३ मा जननिर्वाचित प्रतिनिधि कमरेड नन्दलाल रोकायलार्इ अपमानित गरी हटाएर अन्य कुनै सरकारी नेकपाका नेता संसदीय चोरदुलोबाट छिर्न चाहन्छन भने म नरेन्द्रजंग पिटर ९नुनिन्द्र दुलाल० सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गर्दछु’ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन, ‘बामदेवजी भन्दा खजुराक्षेत्रको म पुरानो अभियन्ता हुँ भने सहमतिमा हिम्मत र विमतिमा विवेक प्रयोग गर्ने सडकको म पार्टीविहीन माओवादी पनि हुँ ।’

नन्दलाललाई अपमानित नगर्न चुनौति दिंदै उनले भनेका छन, ‘यो क्षेत्रलाई कसैले अपमानित नगरोस्, यसो त म संसदीइय कम्युनिज्ममा विश्वस्त छैन, संसदको रमिता र तमासा देखेर ।’ यदि बामदेव बाँके आएर चुनाव लडे र पिटरले उम्मेदवारी दिए बामदेवको जीत अनिश्चित हुने स्थानीयको अनुमान छ ।

  • १ आश्विन २०७५, सोमबार २२:३५ प्रकाशित
  • Nabintech