अमेरिका निवासी नेपालीले बनाए प्लेन
  • काँचुली खबर

जीवन गतिशील छ । संघर्ष यात्रामा अनेक आरोह अवरोहहरू आउँछन् । तर धैर्य र साहसकासाथ परिस्थितिको मुकाविला गरी निरन्तर कर्तव्यपथमा अगाडि बढ्न सक्नु नै महानता हो । जो मान्छे उद्देश्य प्राप्तिको लागि निरन्तर संघर्ष गर्दछ । त्यो मात्र निश्चित गन्तव्यमा पुग्न सफल हुन्छ ।

यस्तै संघर्षशिल व्यक्तिहरूमध्ये इन्जिनियर एवं पाइलट प्रमोद रेग्मी पनि एक हुन् । हाल अमेरिकाको फोनिक्स, अरिजोनाका स्थायी निवासी प्रमोद रेग्मी सानैदेखि अत्यन्त जिज्ञासु र मेहनती स्वभावका थिए । उनलाई केही न केही नयाँ कुराहरूको आविष्कार गरेर मुलुकलाई योगदान पुर्याउने चाहना थियो । तर राज्यको विषम परिस्थिति, उचित साधन र श्रोतको अभावले गर्दा हरेक कुरामा चुप लाग्न बाध्य बनाउँथ्यो । उनी अवसरको खोजीमा थिए । तर नेपालमा त्यो अवसर मिल्न भने सकिरहेको थिएन । फलतः उनले आफ्नो समय अध्ययनतर्फ केन्द्रित गर्न थाले ।

बुबा केशव रेग्मी र आमा अम्बिका रेग्मीको कोखबाट बालाजु काठमाण्डौंमा जन्मिएर हाल अमेरिकालाई कर्मथलो बनाएका रेग्मी २०५४ सालमा अमेरिका प्रस्थान गरेका थिए ।मनभरि रहर, चाहना र सुखद भविष्यको सपना बोकेर अध्ययनको सिलसिलामा २३ वर्षको कलिलो उमेरमा अमेरिका हान्निएका रेग्मीको चाहना भने सानैदेखि पाइलट बन्ने थियो ।

पेशाले इन्जिनियर रहेका रेग्मीले पाइलटको कोर्स पूरा गरी लाइसेन्स लिईसकेपछि प्लेन पनि आफैँ बनाउने अठोट गरे । तर उनको यो अठोट सहज भने थिएन । उनीमाथि धेरै चुनौतीहरू थिए । आर्थिक लगायत प्राविधिक कठिनाइहरू थिए । उक्त परियोजना पूरा गर्नको लागि अध्ययन, अनुसन्धान, सन्तुलित दिमाग, कठिन परिश्रम, आत्मविश्वास, धैर्यता, लगनशीलताको खाँचो पर्दथ्यो ।

“जहाँ ईच्छ्या त्यहाँ उपाय” भने झैँ उनी निरन्तर उद्देश्य प्राप्तिको लागि अगाडि बढ्दै गए । परियोजनालाई सफल बनाउन डेढबर्षसम्म कसैसँगपनि सम्पर्क गरेनन् । उनी मात्र आफ्नो कार्यमा अगाडि बढ्दै गए । किनकि उनलाई हर हालतमा यो परियोजना सफल गर्नुथियो । परियोजना सफल बनाउनको लागि आफ्नो नियमित काम बाहेक अन्य समयमा घण्टौँ घण्टा ग्यारेजमा बिताउन थाले । काममा यती खट्दथे कि आफ्नो परिवारलाई समेत भेट्ने उनीसँग समय थिएन । छोराछोरी र श्रीमतीले समेत उनलाई हमेशा ग्यारेजमै गएर भेट्नुपर्दथ्यो ।

डेढ वर्षको उनको अथक प्रयास, लगातारको मेहनत र परिश्रमको वावजूद अन्ततः आज उनको यो परियोजना सफल भएको छ । अन्य देशको तुलनामा यो सामान्य भए पनि नेपालको सन्दर्भमा भने प्लेन बनाउने उनी पहिलो व्यक्ति हुन् । संसारमा असम्भव भन्ने केही छैन, मेहनत गरे के हुन्न र ? भन्ने भनाइलाई उनले सार्थक बनाएर देखाएका छन् । यो परियोजना उनी एक्लैले खटेर सफल गरेका हुन् । आफ्नो दिनरातको मेहनत बाहेक प्लेनको कुल लागत खर्च डेढ करोड नेपाली रुपैयाँ पर्न आएको छ ।

हाल उनको प्लेन अमेरिकी सरकारको हवाई विभागमा जुन ४, २०१८ मा सूचिकृत हुनुका साथै उडान अनुमति समेत लिइसकेको छ । उनी एक्लैले तयार पारेको प्लेनको सफल परीक्षण एवं सफल उडान समेत गरिएको छ । उनको पहिलो सफल उडान १४ जुन २०१८ मा गरिएको थियो । जसको समयावधि डेढ घण्टाको थियो । प्राप्त जानकारी अनुसार आउँदो २०१९ भित्रमा अमेरिकाका सबै स्टेटहरूमा उडान भर्ने उनको लक्ष्य रहेको छ ।

  • २८ भाद्र २०७५, बिहीबार १६:५७ प्रकाशित
  • Nabintech