बाँकेमा ठूला–ठूला तारे होटलहरू खुल्ने क्रम बढेपछि बिभिन्न वाणिज्य बैंकहरूले होटल व्यवसायमा २ अर्ब भन्दा बढी कर्जा लगानी गरेका छन् ।
नेपाल राष्ट्र बैंकको नेपालगन्ज शाखाले दिएको जानकारी अनुसार स्वदेशी रविदेशी धार्मिक तथा अन्य पर्यटकको आगमन बढ्दै जाँदा नेपालगन्ज र कोहलपुरका होटलहरू फस्टाउँदै गएपछि वाणिज्य बैंकहरूले होटल ब्यबसायमा सो लगानी गरेका हुन् ।
राष्ट्र बैंकले पछिल्लो पटक गरेको एक अध्ययनबाट सो कुरा थाहा भएको बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले बाँकेमा गरेको उक्त अध्ययनका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरूले बाँकेका होटलहरूमा १ अर्ब ७० करोडको लगानी गरेका छन् भने ‘ख’ वर्गका बैंकहरूले होटलमा ३० करोड बढी कर्जा लगानी गरेको पाइएको छ ।
प्रत्येक वर्ष होटल व्यवसायमा बैंकको लगानी समेत बढिरहेको अध्ययनमा पाइएको बताईएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा होटलहरू मा करिब २२ प्रतिशतले ‘क’ वर्गका बैंकहरूले लगानी बढाएका छन् भने ‘ख’ वर्गका बैंकहरूको लगानी १८ प्रतिशतले बढेको पाइएको होे ।
राष्ट्र बैंकको सो अध्ययनले बाँकेमा पर्यटकीय स्तरका ठूला सुविधा सम्पन्न होटलहरूको संख्या ३६ रहेको पाइएको छ । मानसरोवर यात्रालाई लक्षित गरेर अहिले नेपालगन्ज र कोहलपुरमा चार तारे होटलहरू पनि सञ्चालनमा छन् ।
बैंकद्वारा अध्ययन गरिएका जिल्लाका होटलहरूमा १ हजार ६ सय ६८ बेड रहेको पाईएको छ । जस अनुसार नेपालगन्ज र कोहलपुरमा रहेका एक तारे होटलहरूमा २ सय १३, तीनतारे होटलहरूमा ३ सय ५९, चार तारे होटलहरूमा १ सय ७६ र अन्य सामान्य पर्यटकीय स्तरका होटलहरूमा १ हजार ३ सय ३० बेडहरू छन् ।
जिल्लामा रहेका ३६ वटा स्तरीय पर्यटकीय होटलहरूमध्ये २८ होटलहरूमा पुराना व्यवसायी संलग्न छन् भने ८ वटा होटलहरूमा संलग्न व्यवसायीहरू नयाँ रहेको पाइएको पनि राष्ट्र बैंकले जनाएको छ ।
बैंकको उक्त अध्ययनमा भनिएको छ, ‘मध्य तथा सुदूरपश्चिमको ट्रान्जिट प्वाइन्टका रुपमा रहेको नेपालगन्जमा सरकारी उच्च अधिकारी, कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय गैसस लगायतका विशिष्ट पाहुनाहरू आइरहने स्थान पनि रहेको र मध्यपश्चिम क्षेत्रमा रहेका विभिन्न पर्यटकीय र धार्मिक स्थल तथा प्रसिद्ध कैलाश मानसरोवरसम्म आवत जावत गर्नका लागि बाँके जिल्ला हुँदै अधिकांश पर्यटक र तीर्थयात्रीहरू आफ्नो गन्तव्यमा पुग्ने भएकोले यहाँका होटल तथा रेस्टुराँ फस्टाउँदै गएका छन् ।’
बाँकेमा रहेका साना तिना गरी करिब ५ सय होटलहरूले २५ सय जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको होटल ब्यवसायी संघ बाँकेले जनाएको छ ।
स्रोत : कारोबार
२४ भाद्र २०७५, आईतवार २०:०२ प्रकाशित