२२ बैशाख २०८१, शनिबार
बिमस्टेक सम्मेलनका ५ प्राथमिकता, नेपाललाई फाइदा कति ?
  • काँचुली खबर

बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० को चौंथो सम्मेलनको ५ प्राथमिकता तय गरिएको छ । राजधानीमा भदौ १४ र १५ गते आयोजना हुने सम्मेलनले ‘कनेक्टिभिटि’, गरिवी निवारण, व्यापार-लगानी, जलवायू परिवर्तन र सुरक्षाबारे महत्वपूर्ण दस्ताबेज जारी गर्ने भएको हो ।

“शान्त, समृद्ध र दिगो बंगालको खाडीतर्फ” मूलनारा रहेको सम्मेलनले यी क्षेत्रमा केन्द्रित रहेर काठमाडौं घोषणापत्र जारी गर्नेछ । ७ सदस्य सम्मिलित यस क्षेत्रीय प्रयासले दक्षिण एसियालाई दक्षिण पूर्वी एसिया र अन्ततः समग्र विश्वसँग जोड्न आधारशिला तयार हुने बताइएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार सम्मेलनको आवश्यक सबै तयारी पुरा भइसकेको छ । उनका अनुसार बिमस्टेक सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुले बैठकमा आउने निधो गरी नेपाललाई जानकारी पनि गराइसकेका छन् । मुलनारा सहित उल्लेखित प्राथमिकताको क्षेत्र नेपालका लागि ठूलो उपलब्धि हुने बताइएको छ । बिमस्टेकको काठमाडौं सम्मेलन बिमस्टेक इतिहासकै ल्यान्डमार्क इभेन्ट बन्ने उनको दाबी छ । उनले भने, “बंगालको खाडीमा सेता हिमालदेखि निला समुद्रसम्म छन् । इकोलोजिकल रिजन पहिचान गरेर यो क्षेत्रीय संगठन स्थापना गरिएको हो । हामी सबैको हितमा सम्मेलन हुने पक्का छ ।”

स्थापना समयमा १६ वटा प्राथमिकताको क्षेत्र तोकेको क्षेत्रीय सहयोग संगठनले सम्पूर्ण प्राथमिकतालाई संक्षेपिकरण गरेर ५ वटामा झारेको हो । मन्त्री ज्ञवालीले भने, “प्राथमिकता कट डाउन गरेको हैन, रि–फोकस तथा रि–च्यानलाइज मात्र गरिएको हो ।”
आवश्यक परे ५ वटाभन्दा बढी पनि बनाउन सकिने उनी बताउँछन् ।

विकासशिल राष्ट्रका लागि यी क्षेत्र विकासको पहिलो आधार भएकाले बिमस्टेक पूर्ण रुपमा नेपालको लागि लाभदायी हुने परराष्ट्रमन्त्री ज्ञवाली बताउँछन् । उनले भने, “बिमस्टेकले प्राथमिकताको क्षेत्र पहिचान गरिसकेको छ । तसर्थ, नेपालले प्राप्त गर्न सक्ने पनि यिनै विषय हुन् ।”

विकासशिल राष्ट्र भएकाले लगानी भित्र्याउन, व्यापार विस्तार गर्ने, कनेक्टिभिटी स्थापना गर्ने विषयमा नेपाललाई फाइदा पुग्नेछ । उनका अनुसार बिमस्टेकका माध्यमबाट दुईपक्षिय मात्र नभएर बहुपक्षिय सम्झौता गर्न सकिनेछ । यसले दक्षिण एसियालाई दक्षिण पूर्वी एसियासँग जोड्दछ । तसर्थ नेपाललाई यसको माध्यमबाट सिमाना जोडिएको छिमेकीसँग मात्र नभएर पूर्वी एसियासँग जोडिने अवसर मिल्नेछ ।
अन्य क्षेत्रीय संगठन झैं बिमस्टेकको चार्टर भने छैन । यहीकारण यो अन्य संगठनभन्दा कमजोर मानिने गरेको छ । तर, नेपालले चार्टरको आवश्यकता रहेकोले यो बनाउनुपर्ने प्रस्ताव पनि गरिसकेको छ ।
चार्टर बनाउनका लागि सम्मेलनले मेकानिज्म निर्माण गरी अघि बढ्ने पनि ज्ञवालीले बताए ।
सम्मेलनपछि काठमाडौं घोषणापत्र जारी हुनेछ ।

यी हुन् प्राथमिकताका ५ क्षेत्रः

कनेन्टिभिटीः
रेल, सडक, अप्टिकल फाइबर, ग्रिड कनेक्सन, एभिएसन्, बुद्ध सर्किटको कनेन्टिभिटिमा सममेलन केन्द्रीत हुनेछ । यसले अन्तरदेशिय प्रसारण, व्यापार विस्तार, पर्यटन लगायत विषयमा सदस्य राष्ट्रालाई फाइदा पुग्नेछ ।

यी विषयले अन्तरसम्बन्ध सिर्जना भएकाले यी माध्यमबाट बिमस्टेकका सबै देश जोड्ने अवधारण बनाइएको छ । सम्मेलनको उच्च प्राथमिकता र पहिलो जोड रहेको विषय पनि कनेक्टिभिटि नै हो । सम्मेलनमा नेपालले ग्रिड कनेक्टिभिटिमा क्षेत्रीय सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ । यसले विद्युत खरिद तथा बिक्रीमा सघाउन पुर्याउने अपेक्षा गरिएको छ । नेपालले अहिले अन्य कनेक्टिभिटी दस्ताबेजमा तयारी गरिरहेका परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

यो सम्मेलन नेपाललाई अन्तर्राष्ट्रिय जगतमा स्थापित बन्ने कोशेढुंगा समान हुनेछ । बंगलादेशसँग विद्युत् बिक्री सम्झौता गरिसकेको हुनाले नेपाललाई त्यहाबाट थप विस्तार गर्न सघाउ पुग्नेछ ।

गरिवी निवारणः
केही वर्षयता नेपालले गरिवी निवारणमा गरेको उपलब्धि गरेको छ । गरिवी निवारणका लागि पनि संगठनमा नेपालले नेतृत्व गरेको छ ।तर, अझैपनि बंगालको खाडी क्षेत्रमा २० प्रतिशत जनता गरिवीको रेखामुनि रहेका छन् । गरिवीको यो तथ्यांक आफैं ठूलो समस्या हो । करिब ४० करोड जनता गरिव हुनु भनेको यसक्षेत्रको सरकारी नीति निर्माण र विकासका लागि बाधक हो । गरिवी निवारणका लागि गर्न सकिने बहुआयामिक प्रयोग र आपसी योगदानबारे बिमस्टेक सम्मेलन केन्द्रीत रहने छ ।

व्यापार-लगानीः

विकासोन्मुख राष्ट्रहरु भएपनि यो क्षेत्रको व्यापार, लगानी तथा पर्यटन विकासको प्रगति आशा गरेजति हुन सकेको छैन । यो क्षेत्र कम इन्टिग्रेटेड क्षेत्र हो । यस क्षेत्रमा मुस्किलले साढे ५ प्रतिशत व्यापार एकअर्कामा हुने गरेको छ । तसर्थ, व्यापार-लगानी अभिवृद्धिका लगि आपसी समझदारी निर्माण गर्ने, उपाए परिचालन गर्ने, ट्यारिफ न्यूनिकरण, भन्सार बिन्दु सहजीकरण तथा सहज सञ्चालनदेखि अन्य अवरोध पनि न्यूनिकरण गर्नेमा सम्मेलन केन्द्रीत रहने छ । यसबाट लगानी अभिवृद्धि भइ समृद्धिको दिशातर्फ उन्मुख हुने बताइएको छ ।

जलवायू परिवर्तनः
बिमस्टेक सिर्जनाका अवधारण नै पारिस्थितिय अवधारणा हो । यो क्षेत्रले विशेष गरी अन्य देशहरुले गरेको गल्तीले सजाय भोग्नु परेको छ । यहाँका सेता हिमाल काला बनेका छन्, समथर भुभाग जलमग्न बनेका छन् । समुद्रले नजिकका बस्ती डुब्न थालेका छन् । बिमस्टेकबाट नेपाल, भुटान, बंगलादेशजस्ता देशले विशेष लाभ लिन सक्नेछन् ।

सुरक्षाः

यो क्षेत्रको अर्को समस्या सुरक्षा हो । सुरक्षा चुनौतीमा पारम्परिकदेखि आधुनिक चुनौती पनि रहेका छन् । आतंकवाद, साइबर सुरक्षा, मानव बेचविखनआदि सुरक्षाका ठूला चुनौती हुन् । यो सहयोग संगठन एक भएर यी चुनौति कसरी सामना गर्न सकिन्छ र समाधान गर्न सकिन्न भन्ने विषयमा सम्मेलन केन्द्रित रहनेछ ।

उल्लेखित प्राथमिकता बाहेक सम्मेलनले ढाकास्थित बिमस्टेकको सचिवालय सुधारमा केन्द्रीत रहने बताइएको छ । यसका मध्यमबाट एउटा कोषको स्थापना गरि सहयोग क्षेत्र बिस्तारको अध्ययन हुने मन्त्री ज्ञवालीले दावी गरे । यसका साथै सम्मेलनको अवसरमा भारत र नेपालबीच छुट्टै दुई सम्झौता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार सम्मेलनको रक्सौल-काठमाडौं रेल्वे र बल्क कार्गो सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको हो । यसैगरि नेपाल र श्रीलंकाको थिंक ट्यांकबीच आपसी सहयोगबारे छलफल हुनेछ ।
बिमस्टेकको स्थापना सन् १९९७ मा भएको हो । यसको पहिलो सम्मेलन थाइल्यान्डमा सन् २००४ मा भएको थियो भने सन् २००८ मा भारतमा दोस्रो सम्मेलन भएको थियो । सन् २०१४ मा म्यानमारमा भएको तेस्रो शिखर सम्मेलनपछि बिमस्टेकको अध्यक्षता नेपालले गरेको हो ।

 

स्रोत : बाह्रखरी

  • १० भाद्र २०७५, आईतवार ११:४८ प्रकाशित
  • Nabintech