६ जेष्ठ २०८१, आईतवार
आनलाइन प्रणालीमा व्यक्तिगत घटना दर्ता सम्बन्धी अन्तरक्रिया
  • काँचुली खबर

नेपाल सरकारको केन्द्रीय पञ्जीकरण विभागको आयोजना तथा जिल्ला समन्वय समिति बाँकेको समन्वयन आइतबार नेपालगञ्जमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरणलाई आनलाइन प्रणालीमा राख्ने सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बाँके जिल्लाका आठवटै स्थानीय तहहरुका प्रमुख वा उप-प्रमुख एक जना, प्रमुख प्रशासकिय अधिकृत र सामाजिक शाखा वा पञ्जीकरण शाखाको एक जना कर्मचारी समेतको सहभागीता रहनु पर्ने प्रावधान रहेको सो अन्तरक्रिया कार्यक्रम कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रममा केन्द्रीय पञ्जीकरण विभागका महानिर्देशक रुप नारायण भट्टाईले पञ्जीकरण र व्यक्तिगत घटना दर्ता तीनवटै तहका सरकारका लागि अति महत्वपूण काम भएको बताउँदै सरलाई स्थानीय तहको सरकारले अझ विशेष प्राथमिकतामा राख्नु पर्ने तर्क गरे । भट्टराईले भने, ‘सबै तहका सरकारले योजना र बजेट बनाउँदा सबै उमेर समूहकको जनसंख्या समेतलाई मापन गर्ने र त्यस्तो तथ्याङ्क स्थानीय तहले लिएको व्यक्तिगत घटना दर्ता तथ्याङ्कले मात्र दिने भएकाले सबै स्थानीय तहले प्राथमिकतामा राख्नु पर्दछ । ’महानिर्देशक भट्टराइले व्यक्तिगत घटना दर्ता तथा विद्युतिय माध्यमबाट सामाजिक सुरक्षा भत्ताको विवरण ऐन आइसकेको र त्यसलाई कार्यान्वयन गरिने बताए । उनले यस सम्बन्धी अन्य आवश्यक पर्ने र्काविधि निर्देशिकाहरु समेत समयानुकूल बनायने काममा विभाग लागेको जानकारी गराए । व्यक्तिगत घटना दर्ताको कामलाई आनलाइन मार्फत गराउँदा आवश्यक पर्ने जनशक्तिलाई तालिम दिने र दुई वर्ष भित्र सबै स्थानीय तहहरुमा यो प्रणाली लागु गरिसक्ने तयारीमा विभाग रहेको भट्टराईले दावी गरे ।
कार्यक्रममा विभागका निर्देशक केशर पण्डितले व्यक्तिगत घटना दर्ता सम्बन्धी ऐन २०३३ ले गरेको व्यवस्था र व्यक्तिगत घटना दर्ता गर्नुको आवश्यकता बारेमा विस्तृत रुपमा प्रकाश पारेका थिए । व्यक्तिगत घटना दर्ता भन्नाले जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद दर्ता, गोद लिने, प्रमाणिकरण, बाबु आमाको पहिचान, अविवाहित प्रमाण समेत पर्दछन् ।


त्यस्तै अर्का निर्देशक भगवान अर्यालले नेपालको सामाजिक सुरक्षा भत्ता वितरण रणनीति २०७४ र यसले गरेको कानूनी व्यवस्था तथा यसलाई आनलाइन प्रणालीमा बैंकिङ प्रक्रियाबाट सञ्चालन गर्ने व्यवस्था सम्बन्धी जानारी गराएका थिए । नेपालमा रु. २८ लाखबाट शुरु गरिएको सामाजिक सुरक्षा भत्ता चालु आर्थिक वर्षको बजेट विनियोजन सम्म आइपुग्दा रु. ४१ अरब पुगेको छ भने नेपालमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरु करिब २४ लाखको संख्यामा रहेको तथ्याङ्कले देखाएको छ ।
अन्तरक्रिया कायृक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद देवकोटा , सामाजिक विकास शाखाका अग्नी आचार्य, बैजनाथ गाउपालिकाका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, खजुका गाउँपालिका उपाअध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत लगायतले विभिन्न जिज्ञाशा तथा सुझावहरु राखेका थिए । कार्यक्रम समापन गर्दै कोहलपुर नगरपालिका प्रमुख एवं कार्यक्रमका सभापति लूट बहादुर रावतले स्थानीय सरकारलाई सफल नबनाई संघीयता सफल हुन सक्दैन भन्दै स्थानीय सरकारलाई सक्षम र बलियो बनाउनु पर्ने बताए । रावतले आनलाइन प्रणालीका लागि आवश्यक कर्मचारी स्थानीय तहले व्यवस्था गर्न सकिने तर उनीहरुको क्षमता विकासमा विभागले ध्यान दिनु पर्ने सुझाल दिए ।

  • ३ भाद्र २०७५, आईतवार २२:१९ प्रकाशित
  • Nabintech