स्वरुप फेर्दै नेपालगन्ज उप-महानगरपालिका
  • काँचुली खबर

सडक र नाला निर्माणले तीव्रता पाएसँगै नेपालगन्ज उपमहानगरपालिका क्षेत्र सुकिलो देखिन थालेको छ । नेपालगन्जको मुख्य सडक अर्थात् सुर्खेत रोडबाट दायाँबायाँ सडक र नाला निर्माणको काम भइरहेकाले उपमहानगर क्षेत्रले मुहार फेर्दै गएको हो ।
फराकिला कालोपत्रे सडक र नाला निर्माणले नेपालगन्जको स्वरुप फेरिँदै गएको उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा बताउँछन् । ‘जननिवाचित प्रतिनिधिहरु आएपछि लामो समयदेखि रोकिएका विकास निर्माणका कामले अब गति लिन थाल्नेछन्,’ उनले भने ।
नगरवासीले सडक क्षेत्रमा निर्माण भएका पर्खाल, घर लगायतका संरचनाहरुलाई तोडेर सडक निर्माणको काममा सहयोग गरेपछि उपमहानगरपालिकालाई पनि काम गर्न सहज भएको छ ।

उपमहानगरपालिका अन्तर्गत क्षेत्रीय सहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाइमार्फत १ अर्ब ५३ करोडको लागतमा उपमहानगरका विभिन्न क्षेत्रमा ३६ किमि सडक तथा ४० किलोमिटर निर्माणको काम भइरहेको हो ।
आगामी ३० महिनामा निर्माण सक्ने गरी कालिका कन्स्ट्रक्सन प्रालिले नेपालगन्जको चारवाहिनी-त्रिवेणीमोड सदरलाइन, बलबुलिया सडक निर्माण गरिरहेको छ । कालिकाले एकसाथ एक दर्जन स्थानमा सडक तथा नाला निर्माणको कामलाई अगाडि बढाएको यसका निर्देशक युवराज क्षेत्रीले बताए ।
त्यसैगरी सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय नेपालगन्जले पनि उपमहानगरपालिका क्षेत्रमा सघन सहरी विकास कार्यक्रम अन्तर्गत करिब ३२ किलोमिटर लामो सडक र नाला निर्माण गरिरहेको छ । करिब १ अर्ब ५० करोडको लागतमा उपहमहानगरपालिका क्षेत्रभित्रका १८ वटा सडक निर्माण भइरहेको डिभिजन कार्यालयका इन्जिनियर होमनाथ भुसालले जानकारी दिए ।

डिभिजन कार्यालयले बनाउने सडक ६ देखि १६ मिटरसम्म चौडाइका छन्। ती सबै सडकसँग आवश्यकताका आधारमा नालाहरु पनि निर्माण हुनेछन् ।
२०७६ असार मसान्तसम्म कार्य पूरा गर्ने गरी निर्माण सुरु भएको हो । निर्माणको कामले राम्रै गति लिएकाले निधाति समयमै पूरा हुने इन्जिनियर भुसाल बताउँछन् ।
डिभिजन सडक कार्यालयले निर्माण सुरु गरेका नेपालगन्जको राझा चोकदेखि नेपालगन्ज विमानस्थल गेटसम्मको डेढ किलोमिटरसहित विभिन्न ५ वटा गरी करिब साढे १७ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भइसकेका छन् । त्यसैगरी हुलाकी सडक आयोजनामार्फत नेपालगन्जको फुलटेग्रादेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको करिब ३ किलोमिटर लामो सडक पनि निर्माणाधीन अवस्थामा छ ।
करिब ४ करोडको लागतमा निर्माण हुन लागेको सो सडक २०७६ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । एकैसाथ दुई दर्जनभन्दा बढी स्थानमा कालोपत्रे सडक तथा नाला निर्माण सुरु भएपछि नगरवासी उत्साहित भएको नगरप्रमुख डा. राणा बताउँछन् ।

विकासको कामले गति लिएसँगै मेयर राणा इन्जिनियररिङ शाखाका प्राविधिकहरु लिएर आफै निर्माण कार्यको नियमित अनुगमन गर्दै आएका छन् । विकासमा काममा बसमासी नहोस् र गुणस्तरीय काम होस् भनेर अनुगमनमा विशेष ध्यान दिइएको राणाले बताए ।
वर्षामा नगरवासीले डुबानको समस्या खेप्न नपरोस् भनेर नालाहरुको सरसफाइ मर्मतसम्भारसँगै निर्माणलाई उच्च प्राचमिकताका साथ अगाडि बढाइएको छ । वर्षौंदेखि जीर्ण अवस्थामा रहेका, अतिक्रमण भएर साँघुरा भएका, नाला नभएका कारण डुबानमा परेर खाल्टाखुल्टी भएका सडक धमाधम निर्माण भइरहेका छन्। अतिक्रमण गरी बनाइएका संरचनासमेत हटाइएकाले नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो स्वरुप बदल्दै गएको हो ।

 

स्रोत : नेपाल लाइभ

  • २९ श्रावण २०७५, मंगलवार १२:३५ प्रकाशित
  • Nabintech