११ कात्तिक, काठमाडौं । मीनबहादुर भाम निर्देशित नेपाली फिल्म ‘शाम्बाला’ले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उपलब्धि हासिल गर्ने क्रम जारी छ ।
थिन्ले ल्हामो, सोनम तोप्देन, कार्मको शीर्ष भूमिका रहेको फिल्मले टर्कीको प्रसिद्ध अन्तर्राष्ट्रिय बोस्फोरस फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म, निर्देशक र अभिनेत्रीको अवार्ड जितेको छ ।
फिल्मले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म अवार्ड, मीनबहादुर भामले उत्कृष्ट निर्देशक र ल्हामोले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेको प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
अवार्डसँगै विजेताले नगद पुरस्कार पनि प्राप्त गरे । उत्कृष्ट फिल्मले १ लाख टर्किस लिरा, उत्कृष्ट निर्देशकले ५० हजार टीएल, उत्कृष्ट अभिनेत्रीले ३० हजार टीएल, उत्कृष्ट अभिनेताले ३० हजार टीएल र स्पेसल जुरी प्राइजको विजेताले ३० हजार टीएल नगद पनि प्राप्त गरे ।
यसअघि भारतको मुम्बई फिल्म फेस्टिभलमा समेत ‘शाम्बाला’ ले स्पेसल मेन्सन अवार्ड जितेको छ ।
‘यस फिल्मको निर्माणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद । हामी हाम्रो उपलब्धि र खुशी विश्वभरका सबै नेपालीसँग बाँड्न चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ ।
‘शाम्बाला’ यसअघि जर्मनीको बर्लिन फिल्म फेस्टिभल र स्विट्जरल्याण्डको लोकार्नो फिल्म फेस्टिभलमा स्क्रिनिङ भैसकेको छ । यो फिल्म अहिले पनि केही नेपाली हलमा प्रदर्शनरत छ ।
११ कार्तिक २०८१, आईतवार १२:०२ प्रकाशित