छोटी भन्सार संचालनमा नआउँदा राजस्व चुहावट बढ्यो
  • काँचुली खबर

नरैनापुरमा रहेको छोटी भन्सार कार्यालय ।

९ कात्तिक, नेपालगन्ज । सशस्त्र द्वन्द्धका बेला बन्द गरिएको बाँकेका छोटी भन्सार कार्यालयहरु अझै पुनस्थापना नहुँदा जिल्लाका विभिन्न नाकाहरुबाट अवैध आयात निर्यात बढेकोले दैनिक ठुलो परिमाणमा राजस्व चुहावट भैरहेको छ ।

जिल्लाका विभिन्न नाकामा स्थापना गरिएका सात वटा छोटी भन्सार कार्यालयहरु सशस्त्र द्वन्द्धका बेला बन्द गरिएकोमा हालसम्म पनि सञ्चालनमा नल्याईएकोले ती नाकाहरु अवैध आयात निर्यातको केन्द्र बन्दै गएका छन् । नेपालगन्ज भन्सार कार्यालयका अनुसार बाँकेको सुइया बगौडा स्थित कटकुइया, नरैनापुर, भगवानपुर, खडैचा होलिया, हिरमिनियाको भघोटना, साई गाउँ र साइगाउँ पश्चिम तर्फको उढरापुर नाकामा छोटी भन्सार कार्यालयहरु रहेका थिए ।

तर लामो समयदेखि कार्यालय पुनस्थापना नहुँदा अधिकांश छोटी भन्सार कार्यालयका भौतिक संरचनाहरु काम नलाग्ने गरि जिर्ण भएका छन् । नरैनापुर, खडैचा, साई गाउँमा छोटी भन्सार रहेका भवन अहिले भत्किएर काम नलाग्ने अवस्थामा पुगेको भन्सार कार्यालयले जनाएको छ ।

गाउँको बाटोबाट भित्रिने मालसामानको भन्सार गर्ने छोटी भन्सार पुनः स्थापना नगरिंदा भारतसँग सीमा जोडिएका गाउँको बाटोबाट खुलेआम चोरी तस्करी हुने गरेको स्थानीयको आरोप छ । छोटी भन्सार नभएका नाकाहरुबाट पैदल, मोटरसाइकल र साइकलमा राखेर दैनिक ठुलो परिमाणको मालसामान राजस्व छलेर नेपाल भित्रिने गरेको प्रत्यक्ष देखिएको उनीहरुको भनाइ छ ।

बाँकेको सीमाना भारतसँग ६५ किलोमिटर खुला रहेको छ । साइड नाकाहरुमा नेपाली सुरक्षाकर्मीको उपस्थिति रहेपनि भन्सार छली निकै हुने गरेको नरैनापुरका स्थानीय सज्जाद खाँले बताए । उनले छोटी भन्सार नहुँदा अवैध आयात निर्यात लामो समयदेखि भैरहेको र राज्यलाई लाखौं लाखको नोक्सानी भैरहेको बताए ।

छोटी भन्सार नहुँदा लामो समयदेखि राजस्व चुहावट हुँदै आएको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह बताउँछन । उनले छोटी भन्सार पुनस्थापनाका लागि पटक पटक आग्रह गरिएपनि सुनुवाई नभएको बताए । छोटी भन्सार कार्यालय नहुँदा नरैनापुर क्षेत्रबाटै चोरी पैठारी र निकासी बढेको उनले बताए ।

यस्तै, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले पनि रंजितवा बजारसँग जोडिएको साइगाउँ तथा उढरापुर छोटी भन्सार कार्यालय स्थापना गर्न माग गर्दै आएपनि सुनुवाई नभएको बताए । उनले छोटी भन्सार नहुँदा स्थानीय व्यापारीहरूलाई व्यवसाय गर्न अप्ठ्यारो हुँदै आएको बताए ।

छोटी भन्सार सञ्चालनका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले पनि धेरै समयदेखि माग गर्दै आएको संघका अध्यक्ष टंक धामीले बताए । उनले वर्तमान गृहमन्त्री रमेश लेखकले छोटी भन्सार पुनस्थापना गर्ने जनाएपनि कहिले हुने हो सो बारेमा अझै केही थाहा नभएको बताए । नाकामा रहेका छोटी भन्सार कार्यालयहरु नभएपछि सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलले चोरी-पैठारी नियन्त्रणको काम गर्दै आएको छ ।
गोरखापत्रबाट

  • ९ कार्तिक २०८१, शुक्रबार १४:१३ प्रकाशित
  • Nabintech