कविता : बिलखबन्द !
  • के.आर. ओली

मेरा साथी,
मेरा सहकर्मी,
खुसाए कि !
अहँ, झन् दुखी !
पत्तै पाएन
किन रिसाए उनीहरू !
वचन लगाएँ कि ?
चित्त दुखाएँ कि ?
अहँ, खोजपड्तालको
लगाएँ सबै सूत्र ।
फेला परेन,
साथी रिसानीको कारण !
अड्कल गरेँ ,
सायद मसँग पैसा छैन,
गरिब भएँ
यसर्थ धनी होस् भनेर हो कि ?
अरूजस्तै प्रगति गर्नै सकेनँ,
यसर्थ प्रगति होस् भनेर हो कि ?
अलिक सानो भएँ
अझैँ ठूलो बन भनेर हो कि ?
मेरा सहकर्मी,
मेरा साथीलाई
खुसी बनाउन
सधैँ हसाइ रहन
के गरूँ ?
उपाय खोजेँ,
अलिक पैसा कमाएँ,
अलिक प्रगति गरेँ
अलिक ठुलोजस्तै भएँ
अहँ झन् झन्
बेखुस मेरा साथी, सहकर्मी
अनि सहपाठी !
अहँ सकेन
मैले खुसी बनाउन
झन् मलिन मेरा साथी
सहकर्मी अनि सहपाठी ।
अनि कुन्नि किन ?
एक दिन म रोइदिएँ,
मन भारी भयो
एक दिन होइन,
हप्तौँ उनकै अगाडि
रोइदिएँ ।
किनकि उनी मेरा सहकर्मी
सहपाठी
अनि साथी ।
म जति निराश भएँ
अनायासै
कालो अनि मलिन उनका अनुहारमा,
देखेँ आज कान्ति छाएको !
म जति मलिन
उनी झन् झन् कान्तिमय !
अनि थाहा पाएँ
मेरो साथी,
मेरो सहकर्मी
मेरो सहपाठी
मलिनताको कारण !
अब के गरूँ
म मलिन बनेर उनलाई हँसाइ रहूँ ?
वा आफू हाँसेर उनलाई जलाइ रहूँ ?
बिलखबन्द म !!!

  • ११ आश्विन २०८१, शुक्रबार १३:११ प्रकाशित
  • Nabintech