बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
  • काँचुली खबर

२ भदौ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।

झाविरुद्ध गत साउन २९ मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेका थियो । साउन ३० देखि नै बयान थालेको अदालतले ३२ गते सुनुवाइ सुरु गरेको थियो ।

शुक्रबार झाको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद सापकोटा, महादेव यादव, अधिवक्ता पुरुषोत्तम अर्याल र मणिराम उपाध्यायले बहस गरेका थिए ।

जाहेरवालातर्फका कानुन व्यवसायीले बहस गर्न खोजेपछि न्यायाधीश केसीको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

आइतबार जाहेरवालातर्फको बहस सकिएलगत्तै उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । अब उनी माथिल्लो अदालतबाट अन्य आदेश नभएमा मुद्दाको फैसलासम्म थुनामा रहने छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा झालाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा प्रतिवादी बनाइएको छ ।

  • २ भाद्र २०८१, आईतवार १६:२६ प्रकाशित
  • Nabintech