एजेन्सी । यसअघि आयरल्याण्डमा लोग्नेस्वास्नीको झगडाका कारण उडिरहेको हवाईजहाज डाइभर्ट गरेर आकस्मिक अवतरण गराउनु परेको खबर सार्वजनिक भएको थियो ।
अहिले फेरि अर्को यस्तै घटना भएको छ, जहाँ एकजना महिला यात्रुको टाउकोमा भेटिएको जुम्राले विमानको आकस्मिक अवतरण गराइदिएको छ ।
सोही जहाजमा यात्रुको रुपमा रहेका एथन जुडलसन नामक एक व्यक्तिले आफ्नो टिकटकमा सो घटनाको बारेमा खुलासा गरेका छन् ।
उनका अनुसार अमेरिकाको लस एन्जल्सबाट न्युयोर्कका लागि उडेको विमान अचानक फिनिक्समा आकस्मिक अवतरण भयो ।
त्यसरी जहाज एक्कासी बीच बाटोमै अवतरण भएपछि उनी अचम्ममा परे । किनकि त्यहाँ जहाजमा वा यात्रुहरुमा कुनै समस्या परेको जस्तो आभाष हुँदैनथ्यो ।
तर जब विमान अवतरण भयो तब उनको छेउमै बसेकी एकजना महिला जहाजको ढोकातर्फ दौडिइन् । त्यो देख्दा लाग्थ्यो कि उनी विमानबाट सबैभन्दा पहिले बाहिर निस्किन चाहन्थिन् ।
पछि मात्र यात्रुहरुलाई जानकारी गराइयो कि उक्त आकस्मिक अवतरणको वास्तविक कारण जुम्रा थियो ।
एकजना महिला यात्रुको टाउकोमा जुम्रा देखिएको थियो । त्यो रिपोर्ट चालक दलसम्म पुगेपछि त्यसलाई मेडिकल इमर्जेन्सी ठानेर जहाजको आकस्मिक अवतरण गरियो ।
दुईजना युवतीहरुले एक महिलाको टाउकोमा जुम्रा हिंडिरहेको जानकारी विमानका कर्मचारीले गराएका थिए ।
करिब १२ घण्टासम्म फिनिक्समा जहाज रोकियो र त्यसपछि मात्रै गन्तव्य तर्फ उडेको थियो ।
टाउकोमा जुम्रा भेटिएकी महिला यात्रुको पहिचान भने गोप्य राखिएको छ । समाचार अनुसार यो घटना गत जुन महिनामा भएको हो ।
२२ श्रावण २०८१, मंगलवार १२:१५ प्रकाशित