लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा
  • काँचुली खबर

६ साउन, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ ।

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची थियो । तर विश्वासको मत नपुग्ने निश्चित भएपछि उनले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् ।

कामचलाउ भएर एकछिन पनि बस्न नसक्ने बताउँदै उनले कांग्रेस–एमालेलाई नयाँ सरकार छिटो बनाउन आह्वान गरे ।

महराको राजीनामा पछि कांग्रेस-एमालेले नयाँ सरकार गठनको तयारी गरेका छन् । दुई दलबीच एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने सहमति भएको एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए । यसअघि कांग्रेस र एमालेबीच मुख्यमन्त्री को बन्ने भन्ने टुंगो लागेको थिएन ।

महराले राजीनामा दिएपछि प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनका लागि आह्वान गरेमा गिरीले आज नै मुख्यमन्त्रीमा दावी पेश गर्ने एमाले प्रमुख सचेतक चौधरीले बताए ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद भएकाले दुई दल मिल्दा स्पष्ट बहुमत पुग्छ ।

मुख्यमन्त्री महराले सम्बोधनको क्रममा आफ्नो कार्यकालमा सहयोग गरेको भन्दै सभामुख, मन्त्रिपरिषद सदस्य, सांसद, कर्मचारी लगायतप्रति आभार प्रकट गरे ।

आफूले मन्त्रिपरिषदका सदस्यहरुलाई पूर्ण विश्वास गरेको र मन्त्रीहरुले पनि विश्वास डगमगाउन नदिएको उनले बताए ।

सबैको सुझावको आधारमा बजेट ल्याएको भन्दै उनले बजेट कार्यान्वयन गर्न पनि सुझाव दिए । ‘योजनाहरु काट्ने, रकमहरु घटाउने स्थिति नआओस्, ठूला दलहरु आएपछि यस्तै हुनेरहेछ भनेर सदनमा बोल्न नपरोस्,’ उनले भने । कामबाटै सम्बन्ध अझ गाढा हुने उनले विश्वास व्यक्त गरे ।

  • ६ श्रावण २०८१, आईतवार १५:२३ प्रकाशित
  • Nabintech