१५ चैत्र २०८०, बिहीबार
प्रदेशका उद्योगमा बढ्यो विदेशी लगानी
  • काँचुली खबर

५ नम्बर प्रदेश औद्योगिक हवको रूपमा विकास भएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७४|७५ मा मात्र ५ नम्बर प्रदेशमा ३३ अर्ब ८५ करोड २६ लाख ७० हजार रुपैयाँ बराबरको लगानी उद्योग क्षेत्रमा भएको छ । यो आर्थिक वर्ष २०७३|७४ को भन्दा ७० प्रतिशतले धेरै हो ।

तथ्यांकले आर्थिक वर्ष २०७४|७५ मा प्रदेशमा लगानीकर्ताले ५३ नयाँ उद्योगमा लगानी गरेको देखाउँछ । आर्थिक वर्ष २०७३|७४ मा ४३ नयाँ उद्योग दर्ता भएका थिए । उद्योगमा भएको लगानीमध्ये ४ अर्ब ३८ करोड २९ लाख १० हजार ३ सय रुपैयाँ (१२ दशमलव ९४ प्रतिशत) वैदेशिक लगानी रहेको छ । यो प्रदेशमा हालसम्मकै उच्च हो ।

वैदेशिक लगानी गर्ने राष्ट्रमध्ये सबैभन्दा अगाडि भारत रहेको छ । प्रदेशमा आर्थिक वर्ष २०७४|७५ मा २ अर्ब ९१ करोड २९ लाख १० हजार ५ सय रुपैयाँ भारतीय लगानी भित्रिएको छ । प्रदेशमा चीन मेनल्याण्ड (ताईवान र हङकङसमेत) ले १ अर्ब ३५ करोड १० लाख रुपैयाँ लगानी भित्र्याएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांकमा छ । प्रदेशका लागि चीनको लगानी यो हालसम्मकै उच्च हो । अन्य लगानी जापान, अमेरिका, डेनमार्क र सामोआजस्ता देशबाट आएका छन् ।

प्रदेशमा दर्ता भएका नयाँ उद्योगमध्ये १५ ठूला, २३ मझौला र १३ वटा साना उद्योग रहेका छन् । उद्योग ऐन २०४९ ले ३ करोड रुपैयाँ बराबरको अचल सम्पत्ति हुने उद्योगलाई साना उद्योगको रुपमा वर्गीकरण गरेको छ । ३ करोडदेखि १० करोड रुपैयाँसम्म अचल सम्पत्ति भएको उद्योग मझौला हुन् भने त्योभन्दा माथिका सबै ठूला उद्योग हुने सो ऐनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७३|७४ मा १५ वटा नयाँ उद्योग दर्ता भएकामा त्यसको उक्त वर्षपछि रुपन्देहीमा १७ वटा नयाँ उद्योगको आगमन भएको छ । नयाँ दर्ता भएका उद्योगमध्ये ८ मझौला, ६ साना र ३ ठूला उद्योग छन् ।

युनाइटेड क्लोजर्स प्रालिको व्याटेरीज नेपाल प्रालि, श्रीनगर एग्रोटेक इन्डस्ट्रिज प्रालि, ब्रीज ग्लास इण्डस्ट्रिज प्रालि, बुद्ध रेडिमिक्स कंक्रिट प्रालि, गौरी स्टील्स प्रालि, टाइगर प्यालेस रिसोर्ट प्रालि र शिवशक्ति प्रिण्ट एण्ड प्याकिङ इण्डस्ट्रिज मझौला उद्योग हुन् भने लुम्बिनी एम्युजमेण्ट एण्ड वाटर पार्क प्रालि, एटम फार्मास्यूटिकल्स प्रालि र लाइका फार्मास्यूटिकल्स प्रालि ठूला उद्योग हुन् ।

साना उद्योगका रुपमा बेलटेक्नो नेपाल प्रालि, भिभो मोवाइल नेपाल प्रालि शाखा ३, एसएचएल म्यानेजमेण्ट सर्भिसेज प्रालि, फिल्मस्मित नेपाल प्रालि, ग्रो वेल प्लास्टिक इन्नोभेसन प्रालि र मिनाक्षी पोलिमर्स नेपाल प्रालि रहेका छन् ।

आर्थिक वर्ष २०७४|७५ मा नवलपरासीमा १३ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये टियानी सिमेण्ट इन्डस्ट्रीज प्रालि, वरुण वेभरेज ९नेपाल० प्रालि शाखा १, नेपाल जगदम्बा सिमेण्ट इन्डस्ट्रिज प्रालि, सिद्धि लक्ष्मी सिमेण्ट प्रालि, वीपीएस पेट्रोलियम नेपाल र सिद्धिविनायक स्टिल्स प्रालि ठूला उद्योग हुन् ।

जिल्लामा मझौला उद्योगमा सिजी फुड्स नेपाल प्रालि शाखा ३, सगरमाथा प्रिकास्ट सोलुसन प्रालि, सिजी प्रिन्ट एण्ड प्याकेजिङ् प्रालि, सिटिजन फार्मास्यूटिकल्स प्रालि र गोल्डेन हार्भेस्ट फर्म प्रालि रहेका छन् भने हाजीएपी वाधा एण्ड को कन्सट्रक्सन नेपाल र एभरेस्ट इरेक्टर्स प्रालि साना उद्योग हुन् ।

सोही आर्थिक वर्षमा कपिलवस्तुमा ७ नयाँ उद्योग दर्ता भएका छन् । तीमध्ये कपिलवस्तु सिमेण्ट उद्योग प्रालि, आईएमएस सिमेण्ट प्रालि र कृष्णराज सिमेण्ट इन्डस्ट्रिज प्रालि ठूला उद्योग हुन् भने हिमाल कंक्रीट प्रालि, पी एण्ड पी स्टील्स र कामख्या स्टील प्रालि मझौला उद्योग हुन् । जिल्लामा साना उद्योगको रुपमा शीतला फूड प्रोडक्ट प्रालि मात्र दर्ता भएको छ ।

बाँके जिल्लामा ७ नयाँ उद्योग दर्ता भएका छन् । जिल्लामा दर्ता भएका उद्योगमध्ये जय अम्बे स्टिल्स एक मात्र ठूलो उद्योग हो । जिल्लामा दर्ता भएका मझौला उद्योगमध्ये सगरमाथा स्टिल्स इन्डस्ट्रिज प्रालि, नेपाल वेलहोप एग्रीटेक प्रालि शाखा २, वर्ष रिसाइक्लिङ इन्डस्ट्रिज प्रालि र विकास फ्लोर मिल प्रालि रहेका छन् भने भिभो मोवाइल नेपाल प्रालि शाखा ५ र गोल्डेन गेमिङ इन्टरनेसन प्रालि साना उद्योग हुन् ।

आर्थिक वर्ष २०७४|७५ मा बर्दिया जिल्लामा ३ साना उद्योग मात्र दर्ता भएको तथ्यांक मन्त्रालयले दिएको छ । तथ्यांक अनुसार बर्दिया होमस्टे प्रालि, राइनो लज बर्दिया प्रालि, एडिबल इन्डस्ट्रिज प्रालि दर्ता भएका छन् ।

दाङमा आर्थिक वर्ष २०७४|७५ मा ३ नयाँ उद्योग दर्ता भएका छन् । ती उद्योगमध्ये घोराही सिमेण्ट इन्डस्ट्रिज प्रालि र अरुण सिमेण्ट इण्डस्ट्रिज प्रालि ठूला उद्योग हुन् भने लिडीया डिजाइन प्रालि सानो उद्योग हो ।

पाल्पामा शक्ति मिनरल्स प्रालि र आरोग्य भवन वोर्क प्रालि गरी २ मझौला उद्योग दर्ता भएका छन् भने गुल्मीमा एक मात्र मझैला कम्पनीको रुपमा झिलिमिली हाइड्रो पावर कम्पनी दर्ता भएको छ । यी जिल्लामध्ये गुल्मी र पाल्पामा आर्थिक वर्ष २०७३|७४ मा कुनै पनि नयाँ उद्योग दर्ता भएका थिएनन् ।

नयाँ थपिएको लगानीमध्ये सबैभन्दा धेरै उत्पादन क्षेत्रको उद्योगमा लगानी भएको छ । उत्पादन क्षेत्रमा ३७ वटा नयाँ उद्योग दर्ता भएका छन् । प्रदेशमा ऊर्जा तथा कृषि र पशुपालन क्षेत्रका उद्योगमा तुलनात्मकरुपमा कम लगानी भएको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७४|७५ मा ती क्षेत्रमा २ वटा मात्र उद्योग दर्ता भएका छन् । पर्यटन क्षेत्रमा ६, सेवा क्षेत्रमा ६ होटल नयाँ उद्योग दर्ता भएका छन् ।

किन बढ्यो लगानी ?

अर्थविद् तथा उद्योगीका अनुसार प्रदेशको उद्योगमा लगानी बढ्नुको कारण लगानीकर्ताले उद्योगमा आफ्नो लगानी सुरक्षित देख्नु हो । रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीले देशमा राजनैतिक गतिरोध हटेकाले लगानीकर्ताले आफ्नो लगानी सुरक्षित हुने ठानेर उद्योगमा लगानी गरेको बताए ।

उद्योग वाणिज्य संघ दाङका अध्यक्ष नारायण भुषालले सरकारले लगानीमैत्री ऐनहरू ल्याएकाले उद्योगमा लगानी बढेको हुन सक्ने बताए । उद्योगमा लगानी सुरक्षाकै लागि भनेर सरकारले विशेष आर्थिक क्षेत्र (सेज), तथा औद्योगिक क्षेत्रको विकासमा निकै चासो देखाएको पाइएकाले लगानीकर्ता उद्योगमा लगानी गर्न सकारात्मक देखिएका उनको भनाइ छ ।

सरकार उदार हुन सके लगानी अझै बढ्ने

औद्योगिक विकासमा प्रदेश सरकार उदार हुन सके प्रदेशको उद्योगमा लगानी अझै बढ्न सक्ने अर्थविद् बताउँछन् । आर्थिक समृद्धिको मुख्य पाटो औद्योगिक विकास भएकाले प्रदेश सरकारले तर्जुमा गर्न लागेका औद्योगिक करसम्बन्धी ऐनहरू उद्योगमैत्री हुनुपर्ने अर्थविद् बाबुराम ज्ञवाली बताउँछन् ।

प्रदेश सरकारले उद्योगमा लगानी बढाउन र आइसकेका लगानीको सुरक्षा प्रत्याभूतिका लागि औद्योगिक नीति ल्याउनुपर्ने विश्लेषक तथा आर्थिक क्षेत्रका जानकार मनिकर कार्की बताउँछन् । पहिले जस्तो बन्द हड्तालका समस्या केहीरुपमा न्यून हुँदै गएपनि विद्युतीय ट्रिपिङजस्ता समस्याका कारण उद्योगी निराश देखिन थालेको उनको भनाइ छ ।

औद्योगिक व्यवसाय ऐन २०७३ पारित भइसकेको, औद्योगिक सुरक्षा बल गठन भएको, निर्यातमा नगद अनुदान नीति आएको, नेपाल व्यापार एकीकृत रणनीति, वैदेशिक लगानी नीति, गुणस्तर ऐन, लघु उद्यमसम्बन्धी व्यवस्था, औद्योगिक पूर्वाधार विकास कार्यक्रम र बौद्धिक सम्पत्ति नीतिजस्ता नीतिगत व्यवस्थाका कारणले पनि उद्योगमा लगानीकर्ता आकर्षित भएको विज्ञ तथा पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए ।

सम्भावनालाई साकार पार्दै जाने हो : मन्त्री गिरी

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेशको समग्र विकासमा आफूहरू केन्द्रित रहेको बताएका छन् । उनले ५ नम्बर प्रदेशमा औद्योगिक विकासका सम्भावना प्रचूर रहेको भन्दै निर्यातजन्य उत्पादन र पर्यटन उद्योग प्राथमिकतामा रहेको बताए ।

  • १० श्रावण २०७५, बिहीबार १६:३१ प्रकाशित
  • Nabintech