फिफा विश्वकप छनाेट : नेपाल र यमनले अंक बाँडे
  • काँचुली खबर

३० जेठ, काठमाडौं । सन्जिव विष्ट  र जिलेस्पी जंग कार्कीको गोलमा फिफा विश्वकप छनोट २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमनसँग २-२ को बराबरी खेलेको छ ।

समूह एच अन्तर्गत साउदी अरेबियाको दम्मानमा भएको खेलमा नेपालले सुरुमा गोल खाएपनि दुई गोल फर्काउँदै खेलमा अग्रता लिएको थियो । तर अन्तिम समयमा अग्रता जोगाउन नसक्दा नेपालले बराबरीमा चित्त बुझाउनुपरेको हो ।

नेपालका लागि सन्जिव र जिलेस्पीजंग दुवैले आफ्नो पहिलो गोल गरेका हुन् । यसै खेलबाट नेपालका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले नेपालका लागि एक सयौँ खेल खेल्ने ऐतिहासिक उपलब्धी समेत हात पारे । किरण नेपालका लागि सर्वाधिक क्याप जित्ने खेलाडी समेत हुन् ।

प्रिन्स मोहमद फहद स्टेडियममा खेलको आठौं मिनेटमै यमनलले अग्रता लिएको थियो ।  नासेर अल गाहवासीले पेनाल्टीमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । २२औं मिनेटमा सन्जिव विष्टले नेपालका लागि बराबरी गोल फर्काए ।

जारी छनोटको दोस्रो चरणमा नेपालले छैटौं खेलमा आएर पहिलो गोल गरेको हो । यसअघि समूहको पाँचवटै खेलमा पराजित हुँदा नेपाल गोलविहिन थियो । छैटौं खेलमा सन्जिवले नेपालका लागि आफ्नो पहिलो गोल गर्दै गोलको खडेरी तोडेका थिए ।

पहिलो हाफ १-१ को बराबरीमा सकियो । ६६औं मिनेटमा जिलेस्पीजंग कार्कीले उत्कृष्ट गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाएका थिए । नेपाल जितनजिक पुगिरहेको बेला यमनले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍यायो । यमनका लागि मोहमेमद अल दाहीले बराबरी गोल गरेका थिए ।

यमनसँग बराबरी खेलेपछि समूह एचमा नेपालले १ अंक जोड्न सफल भएको छ । ६ खेलमा कूल २० गोल बेहोरेको नेपालले जम्मा दुई गोल गर्‍यो । यमनले भने ६ मध्ये १ खेल जित्दा २ खेल बराबरी खेल्यो भने ३ खेलमा पारजित भयो । यसअघि नेपालले घरेलु मैदानमा यमनसँग खेल्दा २-० ले पराजित भएको थियो ।  यस समूहबाट युएई र बहराइन शीर्ष दुईमा रहेर फिफा विश्वकप छनोटको तेस्रव चरण र एसियन कप २०२७ का लागि छनोट भइसकेका छन् ।

समूह एचमा शीर्ष दुईमा नपरेपछि नेपाल र यमन दुवै फिफा विश्वकप छनोटको यात्राबाट बाहिरिसकेका छन् । खब नेपाल र यमनले एसियन कप २०२७ का लागि तेस्रो चरणका छनोट खेल्नेछन् ।

  • ३० जेष्ठ २०८१, बुधबार ०६:२४ प्रकाशित
  • Nabintech