४ जेष्ठ २०८१, शुक्रबार
बाँकेको नौबस्तास्थित क्षेत्रीय कारागार भवनको उद्घाटन
  • काँचुली खबर

२० बैशाख, काठमाडौँ । बाँकेको नौबस्तामा ३ हजार कैदीबन्दी क्षमताको कारागार भवन उद्घाटन गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहिबार एक कार्यक्रमका बिच नवनिर्मित क्षेत्रीय कारागार भवनको उद्घाटन गरेका छन् । १३४ रोपनी क्षेत्रफलमा फैलिएको कारागारमा २४ सय पुरुष र ६ सय महिला कैदी अटाउँछन् ।

सो भवन ३ अर्बको लागतमा निर्माण भएको हो । तीन चरणमा निर्माण सम्पन्न कारागारमा प्रशासनिक, मेडिकल र स्पोर्टस ब्लक छन् । प्रत्येक ब्लकमा एक-एक हजार कैदीबन्दी अटाउँछन् ।

भवन उद्घाटन गर्दै गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीलाई सम्मानजनक श्रममा लगाउन छलफल भइरहेको बताए । उनले भने– ‘कारागार यातना केन्द्र होइन, सुधार गृह बनुन भन्नेमा सरकार सचेत छ ।’

पहुँच भएकाले मात्रै कैद मिनाहा पाएको गुनासो सम्बोधन गर्ने मन्त्री लामिछानेले बताएका छन् । उनले भने, ‘अब, खल्तीबाट नाम झिकेर कैद मिनाहा गर्ने प्रवृत्ति अन्त्य हुन्छ ।’ आचरण सुधार गर्ने कैदीलाई पहुँच नचाहिने र उनीहरुको साथमा सरकार भएको लामिछानेको भनाई छ ।

२०७९ मङ्सिरमा निर्माण सम्पन्न गरिएको बाँकेको नौबस्ता कारागारमा हाल एक सय ३० जना कैदी बन्दीहरू रहेका छन् । तीन हजार कैदी बन्दी राख्न मिल्ने क्षमताको उक्त कारागारमा हाल करिब एक हजार कैदीबन्दी अट्न मिल्ने पहिलो चरणको कामअन्तर्गत भवन निर्माण गरिएको छ । पहिलो, दोस्रो र तेस्रो चरण अनुसार काम सम्पन्न गर्नेगरी भौतिक संरचना निर्माण गरिने कारागार विभागले जनाएको छ ।

सुविधा सम्पन्न नौबस्ता कारागारको उद्घाटन भएसँगै देशैभरका कैदी बन्दीहरू कारागारहरूमा कोचाकोच गरेर बस्नु पर्ने बाध्यताको अन्त्य हुने आशा गरिएको छ । देशभरबाट कैदी बन्दीहरूलाई यहाँ स्थानान्तरण गरिने कारागार व्यवस्थापन विभागले जनाएको छ ।

  • २० बैशाख २०८१, बिहीबार १४:१३ प्रकाशित
  • Nabintech