एक खेल अगाबै नेपालले सिरिज जित्याे
  • काँचुली खबर

४ जेठ, काठमाडौं । नेपालले दोस्रो टी-२० अभ्यास खेलमा विनवार्डस भोलक्यानोजलाई ४९ रनले हराएको छ । योसँगै सिरिज नेपालले एक खेल अगावै जितेको छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।

१ सय ८० रनको लक्ष्य पछ्याएको विनवार्ड्स १८.५ ओभरमा १३० रनमा अल आउट भयो। ओपनर तथा कप्तान किमानी मेलिउसले सर्वाधिक ५० रन बनाए । ओपनरले ७.४ ओभरमा कुनै विकेट नगुमाई ७३ रन बनाएको अवस्थाबाट नेपालले सानदार पुनरागमन गरेको थियो ।
नेपालका गुलशन झाले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । कुशल भुर्तेलले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले १/१ विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । अनिल कुमार साहले २७ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५० रन बनाए । रोहित पौडेलले ३३ बलमा २ चौका र १ छक्कासहित ४१ रन बनाए । कुशल भुर्तेल २८ बलमा ४ चौका र १ छक्कासहित ३८, आसिफ शेख शून्य र दीपेन्द्र २६ रनमा आउट भए ।
तेस्रो खेल शनिबार हुनेछ । आईसीसी टी-२० विश्वकप तयारीको लागि नेपाल एक महिना अघि नै वेष्टइण्डिज पुगेको हो । वेष्टइण्डिजमा तीन खेलपछि नेपाल अमेरिका जाने छ ।
नेपालले २२ र २३ मेमा ह्युस्टन हरिकेन्ससँग दुई खेल खेल्नेछ । त्यसपछि डालासमा आईसीसी टी-२० विश्वकप वार्मअप खेलमा २७ मे मा क्यानडा र ३० मेमा अमेरिकासँग खेल्नेछ । त्यसपछि १ जुनदेखि विश्वकप सुरु हुनेछ ।
  • ४ जेष्ठ २०८१, शुक्रबार ०७:१५ प्रकाशित
  • Nabintech