२१ बैशाख २०८१, शुक्रबार
लुम्बिनीमा सत्ता संकट ! जसपाले भण्डारीलाई फिर्ता बोलायो
  • काँचुली खबर

९ वैशाख, काठमाडौं । पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाएको छ ।जसपाबाट सरकारमा गएका भण्डारीलाल अहिरले शनिबार नै राजीनामा राजीनामा बुझाएका हुन् ।

माओवादी संसदीय दलका नेता समेत रहेका जोखबहादुर महराले २५ चैतमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर पनि मन्त्री बनेका थिए । ६ वैशाखमा मन्त्रिपरिषद् विस्तार गर्दा अहिरले कृषिमन्त्रीको जिम्मेवारी पाए ।

तर जसपाले पदभार ग्रहण नगर्न निर्देशन दियो । दलकै निर्देशनमा उनले राजीनामा दिएका छन् । ‘पार्टीले सरकारमा जान भनेपछि गएँ’, अहिरले अनलाइनखबरसँग भने, ‘अस्ति पदभार ग्रहण नगर्न भन्यो, अहिले राजीनामा दिन भनेपछि दिएँ ।’

सरकार गठनका क्रममा मुख्यमन्त्री महराले सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय जसपालाई दिने लिखित सहमति नै गरेका थिए ।

अहिले एउटामात्र दिएपछि सरकारबाट मन्त्री फिर्ता बोलाइएको प्रवक्ता मनिष सुमनले जानकारी दिए । ‘मुख्यमन्त्रीजीले बेइमानी गर्नुभयो । त्यसैले मन्त्रीलाई फिर्ता बोलाइएको हो’, उनले भने ।

३ सांसद भएको जसपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । ८३ सदस्यीय प्रदेशसभा रहेको लुम्बिनीमा मुख्यमन्त्री महरासँग जसपा सहित बहुमत (४४) मत छ ।

  • ९ बैशाख २०८१, आईतवार १३:१२ प्रकाशित
  • Nabintech