२१ बैशाख २०८१, शुक्रबार
राप्तीसोनारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • काँचुली खबर

८ वैशाख, नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर-३ सरस्वती माविमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

कान्ति आरोग्य अस्पताल नेपालगन्ज र नेपाल पत्रकार महासंघ बाँके शाखाको संयुक्त आयोजनामा सञ्चालित स्वास्थ्य शिविरमा उल्लेख्य मात्रामा विरामी बालबालिका र विरामी महिलाहरु स्वास्थ्य चेकजाँच तथा उपचारका लागि आएको पत्रकार महासंघ बाँके अध्यक्ष दामोदर भण्डारीले बताए ।

कान्ति आरोग्य अस्पतालकी प्रबन्ध निर्देशक डाक्टर रमा बोराका अनुसार स्वास्थ्य शिविरमा बालबालिका र महिला गरि २ सय ६५ जनाको स्वास्थ्य चेकजाँच तथा उपचार गरिएको थियो । स्वास्थ्य चेकजाँच गर्न आएका विरामलाई निःशुल्क औषधि समेत वितरण गरिएको डाक्टर बोराले बताईन् ।

बाँकेको राप्तीपारी बालबालिका र महिलाहरुमा स्वास्थ्यको पहुँचभन्दा अलि टाढा रहेकाले उनीहरुलाई स्वास्थ्यको पहुँचमा पुर्याउन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको महासंघ अध्यक्ष भण्डारीले जानकारी दिए ।

स्वास्थ्य शिविरमा सरस्वती माविका प्रध्यानाध्यापक ललित चौधरीले यस्तो निःशुल्क स्वास्थ्य शिविरले गरिब जनताहरुलाई ठूलो सहयोग पु¥याउने भन्दै पत्रकार महासंघ र कान्ति आरोय अस्पताललाई फेरि पनि अन्य रोगहरुको शिविर आयोजना गर्न भन्दै धन्यबाद दिए ।

उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्ष प्रेमराज श्रेष्ठले स्वास्थ्य शिविर आयोजनाले यस क्षेत्रका जनतालाई स्वास्थ्यको पहुँचमा पुर्याएको प्रतिक्रिया दिए ।

उनले भने, ‘थुप्रै गरिब जनताहरु स्वास्थ्यको पहुँचमा अझैँ पुग्न सकेका छैनन् । उनीहरुका लागि धेरै राहत भयो ।’

उक्त एक दिने निःशुल्क स्वास्थ्य शिविर महासंघ बाँके शाखा र नेपालगन्ज सुर्खेतरोडमा रहेको कान्ति आरोग्य अस्पतालको आयोजना तथा सरस्वती मावि राप्तीसोनारी र डेभलपमेन्ट फर नेपालको सहकार्य रहेको थियो ।

  • ८ बैशाख २०८१, शनिबार १९:१५ प्रकाशित
  • Nabintech