१९ बैशाख २०८१, बुधबार
निकुञ्ज क्षेत्रमा विद्यालय : जोखिममा विद्यार्थी
  • काँचुली खबर

६ बैशाख, कोहलपुर । पछिल्लो समय वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेका विद्यालयका विद्यार्थी जोखिमपूर्ण अवस्थामा छन् ।

साँझ र बिहानको समयमा निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा रहेका विद्यालयमा अध्ययनका लागि आउँदा र जाँदा वन्यजन्तुको जोखिम बढेको हो । जसले गर्दा बालबालिकामा डर पैदा भएको कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैयामा अवस्थित बाल शिक्षा माविका प्रधान अध्यापक तर्क खत्रीले बताए ।

उनले निकुञ्ज र सम्बन्धित सरोकारवाला निकायलाई तारबार नभएका खुला स्कुलमा तारबार गरी त्यहाँ अध्ययनरत बालबालिकालाई सुरक्षित राख्नु सबैको दायित्व भएको भन्दै त्यसतर्फ सबैको ध्यान जानु आवश्यक रहेको बताए ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र प्राथमिक तहदेखि माध्यमिक तह गरी १८ वटा विद्यालय छन् ।

बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्र भित्र वन्यजन्तुको जोखिम हुनु स्वाभाविक हो । सोही कारणले वन्यजन्तुका आनीबानी र आफू कसरी सुरक्षित हुनुपर्छ भन्नेबारेमा सर्वसाधारण आफैँ पनि सचेत हुनुपर्ने बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गहेन्द्र खड्का बताए ।

विशेष गरेर विद्यार्थी एक्लै हिँड्नुभन्दा समूह बनाएर सँगसँगै हिँडेमा सम्भावित जोखिमबाट बच्न सकिने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका संरक्षण सहायक उमेश पौडेलले बताए ।

उनले बालबालिकालाई वन संरक्षण अनि त्यसबाट हुने जोखिमबारे अभिभावक तथा शिक्षक दुवैले निरन्तर सिकाउनुपर्ने र जथाभाबी वनजङ्गल नजाने जानै परे समूहमा जाने सुझाव दिए ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेका विद्यालयका विद्यार्थीको सुरक्षाकालागी स्थानीय सरकार र निकुञ्जले पहिलो प्राथमिकतामा राखेर तारबार नगरेका विद्यालयमा तारबार गरेर जीवन सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउनु आवश्यक देखिन्छ ।

यस्तै वन्यजन्तुबाट हुने सम्भावित आक्रमणबाट बच्न विद्यार्थी लगायत अन्य सर्वसाधारणलाई समूहमा हिँड्न सुझाव दिए पनि यसको दीर्घकालीन समाधानको रूपमा सरोकारवाला तत्कालै लाग्नुपर्ने स्थानीयको माग छ ।
गोरखापत्रबाट

  • ६ बैशाख २०८१, बिहीबार १७:४० प्रकाशित
  • Nabintech