नेटवर्किङ ब्यवसायको नाममा ठगी धन्दा, खाडीमा कार्यरत नेपाली युवासँग लाखौं असुली
  • काँचुली खबर

१९ बैशाख, नेपालगन्ज । खाडी मुलुकमा दुःख गरेर युवाहरूले कमाएको अर्बौँ रकम ठगी गर्ने समूह नेपालमा सक्रिय भएको देखिएको छ । यसरी ठगिने सायौ युवाहरू बाँकेमा रहेको पीडितहरूले बताएका छन् ।

ठगिने मध्येका एक युवा हुन् मलेसिया काम गरेर चार वर्षअघि घर फर्किएका हरिबहादुर बुढाक्षेत्री । खजुरा गाउँपालिका-२ गौघाट निवासी बुढाक्षेत्री डेढ दशक अघि रोजगारको सिलसिलामा मलेसिया गएका थिए । त्यहाँ उनको कमाइ राम्रै थियो । मासिक राम्रो तलब आउने भएपछि नेपालबाट गएका हरिजस्तै थुप्रै युवाहरू त्यहाँको रोजगारीमा आकर्षित भए ।

मलेसियन कम्पनीले उत्पादन गरेका सामानहरू राम्रा थिए । कम्पनीबाट सिधै उपभोक्ताको हातमा सामान जाने भएकोले किन्ने मानिसले धेरै छुट पाउने गर्छ । नेटवर्किङ बिजनेसमार्फत नेपाली युवाबिच परिचय हुँदै गएपछि नेपालमा लगानी गर्ने भन्दै एउटा कम्पनीको स्थापना हुन्छ, त्यो हो एभरेष्ट ग्रुप ।

मासिक रूपमा नेपालमा उक्त ग्रुपमा पैसा पठाउने र उक्त ग्रुपले नेपालको जलविद्युत, रिर्सोट, जग्गा, होटल, जिम क्लब लगायतका विभिन्न ठाउँमा लगाउने गर्ने विश्वास दिलाएको थियो ।

त्यही विश्वासमा विदेशमा भएका युवाहरूले कसैले बैङ्क, कसैले हुन्डी त कसैले आफ्नो परिवारमार्फत सो समूहले खोलेका देशभरका विभिन्न अफिसमा मासिक रूपमा रकम जम्मा गर्ने गरेका थिए । तर त्यसरी जम्मा गरेको रकम कहाँ गयो अहिले उनीहरूलाई नै पत्तो छैन ।

खजुराका हरिले मासिक रूपमा सन् २०१५ देखि सन् २०२० सम्म ५ लाख ६५ हजार रुपियाँ नेपालगन्ज-१८ तिलबहादुर राना मगरको नाममा पैसा पठाएका छन । यसका साथै उनको परिवारका सदस्यले पनि नेपालगन्ज कारकादोको कार्यालयमा गएर केही रकम बुझाएको बताएका छन् ।

चार वर्षअघि मलेसियाबाट नेपाल आएपछि हरिले आफ्नो लगानीको बारेमा खोजी गरे तर पत्ता लगाउन सकेनन् । लगानी गरेको रकम सुरक्षित नभएको भन्दै फिर्ता गर्न ताकेता गरेपछि मात्र उनलाई ठगिएको थाहा भयो ।

पुरानो घर खजुरा ४ डिगाउँ भएका कारण आफ्नै गाउँघरको दाइ भन्ने विश्वासमा हरिले सो ग्रुपमा रकम पठाउने गरेको बताए । अहिले आफूले गरेको लगानी कहाँ छ भनेर सोध्दा तिलबहादुरले स्पष्ट उत्तर नदिनेगरेको उनले बताए ।

‘हामीले दुःख गरेर कमाएको रकम उनीहरूले गलत तरिकाले व्यक्तिगत रूपमा खर्च गरेका रहेछन् । आफ्नो घरजग्गा, गाडीमा खर्च गरेको देखियो । नेपाल आएपछि थाहा भयो’ उनले भने, “मैले तिलबहादुरको नाममा रकम पठाएको प्रमाण राखेको थिएँ । तर धेरै साथीहरूको त प्रमाण नै राखेनन् ।”

चार महिना अघिसम्म फोन सम्पर्कमा रहेका तिलबहादुर अहिले फोन सम्पर्कमा नरहेको हरिले बताए । कानुनी रूपमा अघि बढ्ने तयारी भएको उनले बताए ।

बाँके, बर्दियालगायतका देशभरका संयौं युवाहरूको रकम सो समूहले गलत तरिकाले उठाएको आरोप लागेको छ । उनीहरूको मुख्य कार्यालय सुरुमा काठमाडौँ भनिएको थियो । अहिले त्यहाँ कार्यालय पनि नभएको हरिले बताए ।

खाडी मुलुक मलेसिया, साउदी अरब, कतारजस्ता देशमा काम गरिरहेका हजारौँ युवाको अर्बौँ रकम सो समूहले अपचलन गरेको हरिको आरोप छ । खजुरा गाउँपालिका भित्रमात्र दश बढी युवाहरू त्यसरी ठगिएको उनको भनाइ छ ।

खजुरा गाउँपालिका-२ कै राजकुमार सुनार, आशिष् मगर, सुर्खेत मटेलाका मानबहादुर विसीलगायतकाले मासिक रूपमा तिलबहादुरले पैसा उठाउने गरेको उनले बताए ।

हरिले चिनेका तिलबहादुर केही समयअघि नेपालगन्जको १८ नम्बर वडामा बसेर डिएक्सएनको व्यवसाय गरेर बसेका थिए । तर हाल नेपालगन्जको घरमा जाँदा उनीसँग सम्पर्क नहुने गरेको पीडित युवाहरूले बताए ।

यसरी विदेशमा रहेका युवालाई ठग्ने मुख्य योजनाकारको रूपमा तिल बहादुरसँगै झापाका कृष्ण घिमिरे, काठमाडौँका पुकार छन्त्यालसहित व्यक्तिहरू रहेको हरिले बताए ।

ठगीको आरोप लागेका तिलबहादुर राना मगरले पनि झापाका कृष्णा घिमिरे, पुकार छन्त्याल लगायतको व्यक्तिको योजनामा आफूले बाँके क्षेत्रमा रकम सङ्कलनको काम गरेको बताएका छन् । उनले भने, “म पनि पीडित छु । मभन्दा माथिल्लो निकायमा बसेर काम गरेका साथीहरूले धोका दिए । उनीहरूले गरेको गलत कामका कारण म पनि समस्यामा परेको छु । यस्तो विजनेसको मुख्य योजनाकार कृष्ण र पुकार हुन् । उनीहरू अहिले विदेशमा छन् ।”

आफू ठगिएको प्रमाणसहित हरि जिल्ला प्रहरी कार्यालयमा पुगेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेले कानुनी रूपमा घटनाको अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी नारायण डाँगीले सुरुमा ठगी मुद्दामा घटनाको अनुसन्धान गरिने बताए ।

-गोरखापत्रबाट

  • १९ बैशाख २०८१, बुधबार १६:२८ प्रकाशित
  • Nabintech