१७ बैशाख २०८१, सोमबार
बन्यजन्तुलाई खडेरीबाट बचाउन गेरुवामा पानी फर्काइँदै
  • काँचुली खबर

४ बैशाख, बर्दिया । बर्दिया निकुञ्ज अन्तर्गत पश्चिम क्षेत्रमा वन्यजन्तुका लागि पानीको मुख्य स्रोतका रुपमा रहेका कर्णालीका भंगाला सुकेर वन्यजन्तु प्रभावित बनेको लामो समयपछि सोमबारबाट नदी फर्काउन थालिएको छ ।

प्रत्येक वर्ष चैत पहिलोसाता निकुञ्जको पश्चिम सिमाना भएर बग्ने गेरुवामा पानी फर्काउने गरिएको थियो । यसपटक जिल्लास्थित सिचाइँ डिभिजन कार्यालय र निकुञ्ज विभागले तदारुकता नदेखाउँदा ढिलाई भएको हो ।

चिसापानी पुलभन्दा दक्षिण लालमाटीबाट कर्णाली बर्दिया र कैलालीतर्फ दुई भंगालामा बाँडिने गरेको छ । पहिले बर्दियातर्फ बग्ने गेरुवा ठूलो भंगालोका रुपमा थियो । गेरुवामा प्रशस्त पानी हुँदा थुप्रै प्रजातीका माछा, डल्फिन देखिन्थे । सात वर्षदेखि गेरुवामा पानी घट्दै गयो ।

कैलालीतर्फ अत्यधिक उत्खननले नदी गहिरिएर धेरै पानी बग्न थाल्यो । जसले गर्दा बर्दिया तर्फ गिटी, बालुवा थुप्रिएर बाँध जस्तै बन्यो । अहिले गेरुवा समेत निकुञ्ज भित्रका साना भंगाला सुक्खा छन् । पानी अभाव भएपछि काकाकुल वन्यजन्तु निकुञ्ज छाडेर भारत प्रवेश गरिरहेका छन् । वन्यजन्तुको मुख्य वासस्थानमा पानीका प्राकृतिक स्रोत सुक्न थालेपछि संरक्षणकर्मी चिन्तित छन् ।

पानीको समस्या चर्केपछि चालु आर्थिक वर्षको बजेटमा लुम्बिनी प्रदेश सरकारले गेरुवाको मुहान क्षेत्रबाट ढुंगा, गिटी र बालुवा हटाउन दुई करोड रुपैयाँ आपतकालीन खर्चकालागि बिनियोजन गरेको थियो । जिल्ला सिचाइँ डिभिजन कार्यालयले ढुंगा, गिटी उत्खननकालागि ठेक्का लगाइसकेको थियो । निकुञ्ज विभागको कार्यादेश बिना काम गर्न निकुञ्ज प्रशासन हिचकिचाएपछि ढिलाई भएको हो ।

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वन्यजन्तु प्रभावित हुने भएपछि आपतकालिन खर्चका लागि बजेट निकासा गरिएको जनाए । ‘ढिलाई हुनसक्छ भनेर आपतकालिन फन्डका रुपमा पैसा पठाइएको थियो,’ चौधरीले भने, ‘समस्या अवलोकन गरेपछि तत्काल बजेट निकासा गरिएको हो । प्रदेश मन्त्रीपरिषद्ले गरेको निर्णय अलपत्र पर्ला भन्ने थिएन ।’ बजेट व्यवस्था गरेर पनि वन्यजन्तु तड्पिने अवस्था सिर्जना भएकोमा उनले दुस्ख व्यक्त गरे ।

बर्दिया निकुञ्ज अन्तर्गत ठाकुरबाबा मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष हेमन्त आचार्यले पानी अभावले वन्यजन्तु छटपटिएको समाचार प्रकाशित भएपछि निकुञ्ज विभागले तीन दिनअघि पानी फर्काउन कार्यादेश पठाइसकेको जनाए ।

‘तर, सिचाइँ डिभिजन कार्यालयले इन्जिनीयर पठाएर काम गर्नका सहजीकरण नगर्दा केही दिन बिलम्ब भयो,’ उनले भने, ‘वन्यजन्तुको पीडा कर्मचारीलाई थाहा नहुने रहेछ ।’ विभागको कार्यादेश पत्र आएपछि प्रमुख संरक्षण अधिकृत डा. अशोक रामसहित निकुञ्ज कर्मचारी र संरक्षण सरोकारवालाले गेरुवाको मुहानमा पुगेर अवलोकन गरिसकेको उनले बताए । प्रत्येक वर्ष मुहानमा ढुंगा, गिटी र बालुवा थुप्रिएर प्राकृतिक बाँध बन्ने भएकाले दिगो समाधानका लागि पहल हुनुपर्ने उनले बताए । ‘त्यति धेरै माछा र डल्फिन कहाँ गए होलान्,’उनले भने, ‘पहिले डुंगाले तर्नुपर्ने नदीमा अहिले मोटर चल्छन् ।’गेरुवा लगायत भंगालामा पानी सुकेपछि यसवर्ष पर्यटन व्यवसायीले राफ्टिङ सञ्चालन गर्न पाएनन ।

जलस्रोत तथा सिचाइँ विकास डिभिजनले गेरुवाको मुहानमा थुप्रिएका नदीजन्य पदार्थ हटाउन गत फागुन २१ गते करिब दुई करोड रुपैयाँ ठेक्का सम्झौता गरिएको जनाएको छ । निकुञ्ज विभागको अनुमति पर्खिँदा डेढ महिना बितेको कार्यालयले जनाएको छ । कार्यालयले दुई महिना अघि गेरुवा नदीको लालमटियामा थुप्रिएको नदीजन्य पदार्थ हटाउन १ करोड ९५ लाख रुपैयाँ प्रदेश सरकारबाट प्राप्त गरेको थियो । लालमाटियामा उत्खननका लागि हिमचुली निर्माण सेवाले कुल बजेटको आधाभन्दा कम करिब ९४ लाख रुपैयाँमा ठेक्का कबोल गरेको डिभिजन कार्यालय प्रमुख कृष्णबहादुर बिकले बताए ।

‘काम थाल्नका लागि निकुञ्ज विभागको अनुमती पायौं । सोमबारबाट नदीजन्य पदार्थ हटाउने काम सुरु गरिनेछ,’ उनले भने ‘राष्ट्रिय निकुञ्ज विभागको अनुमति प्रक्रियामा भएको ढिलासुस्तीका कारण उत्खननको काम अघि बढ्न नसकेको हो ।’ एक महिना भित्र उत्खननको काम सक्ने गरी ठेक्का सम्झौता भएको उनले बताए ।

बर्दिया निकुञ्जले प्रत्येक वर्ष तीनपटक गेरुवाको मुहानबाट गिटी, बालुवा हटाएर पानी पर्काउने गरेको छ । त्यसले दिगो रुपमा समाधान हुन सकेको छैन । प्रत्येक सुक्खा याममा पानीको अभाव हुने गरेको छ । चालु वर्ष पनि गत कात्तिकमा गिटी-बालुवा उत्खनन गरेर पानी फर्काइको थियो । त्यसपछि पुसमा पानी फर्काइयो । त्यसपछि चैत पहिलो साता पानी खोल्न नपाएपछि सुक्खा बढेको निकुञ्जले जनाएको छ । राष्ट्रिय निकुञ्ज विभागले नदीजन्य पदार्थ हटाउन अनुमति पत्र पठाएको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले विभागबाट स्वीकृत आएकाले नदीजन्य पदार्थ हटाउने काम सुरु गरिने बताए ।

त्यसकालागि कार्यालयले आवश्यक समन्वय र तयारी पूरा गरिसकेको उनले जानकारी दिए । सिचाइँ डिभिजन कार्यालय र निकुञ्जका कर्मचारीको संयुक्त टोलीले आइतबार लालमाटी क्षेत्र पुगेर संयुक्त सर्वेक्षण पूरा गरेको छ । लालमाटीमा करिब ९० हजार घनमिटर ढुंगा रहेको अनुमान छ । लालमाटीका चार ठाउँमा जेसीभी मेसीन प्रयोग गरेर नदीजन्य पदार्थ हटाइने सिचाइँ डिभिजन कार्यालय प्रमुखले बिकले जनाए । पानी सुकेपछि ठाकुरबाबा र मधुवन नगरपालिकाका कुला सुकेका छन् । पश्चिम राजापुर र गेरुवा गाउँपालिकामा सिचाइँ समस्या भएको छ । गेरुवामा पानी सुकेपछि पर्यटन व्यवसायी, कृषक मारमा परेको गेरुवा गाउँपालिका अध्यक्ष जमानसिंह केसीले बताए ।
कान्तीपुरबाट

  • ४ बैशाख २०८१, मंगलवार १४:२३ प्रकाशित
  • Nabintech