१५ बैशाख २०८१, शनिबार
मार्शल आर्ट र तेक्वान्दो खेललाई उपेक्षा गरीएकाे गुनासाे
  • काँचुली खबर

२९ फागुन, कोहलपुर । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पहिचान दिलाउने मार्शल आर्ट र तेक्वान्दो विधाका खेलहरूलाई उपेक्षा गरिएको एक कार्यक्रममा सहभागीले गुनासाे गरेका छन । राष्ट्रकालागी सबैभन्दा बढि पदक दिलाउन सफल मार्शल आर्ट र तेक्वान्दो खेल सरकारकाे प्राथमिकता नपरेकाे भन्दै उनिहरूले गुनासाे गरेका हुन ।

नेपाल तेक्वान्दो संघ बाँकेले साेमबार काेहलपुरकाे कौशिलानगरमा आयाेजना गरेकाे एक दिने डोजाङ्ग प्रमुख प्रशिक्षण कार्यक्रमका सहभागीहरूले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा मार्शल आर्ट र तेक्वान्दो खेलले नेपालकाे पहिचान स्थापित गरेकाे भएपनि संघ, प्रदेश र स्थानिय सरकारको नजरमा यी खेलहरु प्राथामिकतामा नपर्नु दुखद रहेको बताएका हुन ।

प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै लुम्विनी प्रदेश सभा सदस्य सञ्जु कुमारी चौधरीले खेल क्षेत्रका आ-आफ्ना समस्या रहेको औंल्याउदै सिमित श्रोत साधनको भरपुर प्रयोग गरी अगाडि बढनुपर्ने बाध्यता रहेको जिकिर गरिन ।

खेलकुदमा सफलता प्राप्त गर्न अनुशासनको उत्तिकै खाँचो रहेको भन्दै छोरीहरुकाे आत्मरक्षाका निम्ति पनि हरेक शिक्षालयहरुमा मार्शल आर्ट र तेक्वान्दो खेललाई अनिवार्य गर्नुपर्ने चाैधरीकाे भनाई थियाे ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य तेक्वान्दोका सिनियर प्रशिक्षक श्रीमान थापाले बाँकेबाट राष्ट्रिय स्तरमै ११ जना प्रशिक्षक उत्पादन गर्न सफल जिल्लामा मार्शल आर्ट र तेक्वान्दो खेललाई उपेक्षा गरिएको भन्दै राजनैतिक खिचातानिकै कारण राष्ट्रिय प्रतिभाहरु आझेलको स्थितीमा पुगेको दावि गरे ।

तेक्वान्दो ईन्डोर गेम भएकाले यसका लागि उचित खेल भवनको आवश्यकता पर्ने उल्लेख गर्दै थापाले राज्यका निकायहरुले क्रिकेट र फुटबललाई मात्र खेल हाे भन्ने भ्रम पालेर बसेकै कारण मार्शल आर्ट र तेक्वान्दो खेलहरुमा लगानि गर्न नचाहेको आरोप लगाए ।

“राखेपले भवन बनाउने बजेट विनियोजन गर्छ तर हामीसँग एक धुर जग्गा छैन” थापाले भने, “स्थानिय, प्रदेश सरकारसँग हार गुहार गर्दा पनि मार्शल आर्ट र तेक्वान्दो खेलका लागी १ कठ्ठा जग्गा दिन समेत हिचकिचाउने अवस्था छ ।

खेल क्षेत्रमा सबैभन्दा उर्वर खेल तेक्वान्दो भए पनि सबै निकायले यसलाई नजर अन्दाज मात्रै गर्ने गरेको भन्दै उनले आक्राेश पाेखे ।

तेक्वान्दो प्रशिक्षक वीरेन्द्र कुमार मल्लले बाँके जिल्लामा सम्पन्न खेलमा सबै भन्दा बढि ३२ स्वर्ण र अन्य ३ मेडल सहित जम्मा ३५ मेडल ल्याएर पालिकालाई प्रथम बनाउन सफल भएको भएतापनि पालिकाले नै मार्शल आर्ट र तेक्वान्दो खेलाडिप्रति बिभेदको निति लिएकाे दाबी गरे ।

अन्य खेलाडिहरुले ड्रेस पाउदा तेक्वान्दो र मार्शल आर्टका खेलाडिहरुलाई सामान्य टिसर्ट र हाप प्यान्ट समेत नदिएर खेलाडिको चित्त दुखाएको काेहलपुर नगरपालिकाले तेक्वान्दो र मार्शल आर्ट विधाले प्राप्त गरेका मेडलका आधारमै जिल्ला प्रथम भएको शिल्ड बोकेर आउदा भने छुट्टै रवाफ देखाउने गरेकाे बताए ।

मार्शल आर्ट खेललाई अगाडि बढाउने र खेल खेल्ने भौतिक संरचना तयार पार्ने दायित्व समेत स्थानिय सरकारको भएको भन्दै मल्लले नगरका प्रतिभाहरुलाई पलाएन गराउने छुट कुनै पनि जनप्रतिनिधिलाई नभएको जिकिर गरे ।

कार्यक्रममा प्रमुख प्रशिक्षक चन्द्र श्रेष्ठले डोजाङ्ग प्रमुखहरुले आफ्नो क्षेत्रमा गएर दक्ष जनशक्ति उत्पादन गर्नेमा विश्वास ब्यक्त गर्दै आउदो वर्षदेखि बाँकेका ८ वटै पालिकामा रहेका खेलाडिविच प्रतिस्पर्धा गराई जिल्लामा हुने खेलकुदका निम्ति छनौट गर्नेगरी सरोकारवालाहरुले तयारी गर्दै जानुपर्नेमा जोड दिए ।

नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिती बाँकेका अध्यक्ष प्रकाश लामिछानेको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागि ३५ जना डोजाङ्ग प्रमुखहरुलाई प्रमाण पत्र तथा ड्रेस वितरण गरिएको थियो ।

  • २९ फाल्गुन २०८०, मंगलवार ०९:२२ प्रकाशित
  • Nabintech