१५ बैशाख २०८१, शनिबार
नेपालकाे यू-१६ महिला टिमले भुटानलाई हरायाे
  • काँचुली खबर

२१ फागुन, काठमाडौं । साफ यू-१६ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले भुटानलाई पराजित गरेको छ ।

एन्फा कम्पलेक्समा सम्पन्न खेलमा नेपाल ३-० ले विजयी भएको हो । नेपालका लागि पुजा गिरी, भुमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले १-१ गोल गरे । यससॅगै नेपालको ३ अंक भएको छ । समान ३-३ अंक जोडेपनि गोल अन्तरमा भारत पहिलो, बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।
खेलको १४ औं मिनेटमा नेपालले अग्रता लियो । पुजा गिरीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको फितलो प्रहार गोलरक्षक केल्जाङ वाङमोले रोक्न नसक्दा नेपाल अघि बढेको हो । त्यसको ४ मिनेटपछि नै कप्तान भुमिका बुढाथोकीले नेपालको अग्रता दोब्बर पारिन् ।
२८ औं मिनेटमा छोर्तेन जाङमोको प्रहारमा गोलरक्षक झरना डुम्राकोटीले उत्कृष्ट बचाउ गर्दै २-० को अग्रता जोगाइन् । लगत्तै अर्कोतर्फ नेपालले गोल थप्यो । ग्यान्सु डोल्मा लोले २५ यार्ड टाढाबाट गरेको फ्रिकिक सिधै गोल भयो । गोलरक्षक वाङमोले फ्रिकिकमा हात लगाएपनि जोगाउन भने सकिनन् ।
३८ औं मिनेटमा भुटानले गोल फर्काउने अवसरको सदुपयोग गर्न सकेन । पेनाल्टी क्षेत्रभित्र ह्यान्ड भएपछि प्राप्त पेनाल्टीमा भुटान सफल भएन । छिरिङ ल्हामोको प्रहार गोलरक्षक झरना डुम्राकोटीले बॅायातर्फ डाइभ दिएर विफल पारिन् ।
पहिलो खेलमा नेपाल बंगलादेशसॅग २-० ले पराजित भएको थियो । भारतले भुटानलाई ७-० ले हराएको थियो । मंगलबार भारत र बंगलादेश खेल्नेछन् । शीर्ष दुई टोलीबीच फाइनल आइतबार हुनेछ ।
  • २१ फाल्गुन २०८०, सोमबार १८:२३ प्रकाशित
  • Nabintech