१५ बैशाख २०८१, शनिबार
बैजनाथमा विवाह हेर्न गएका युवामाथि बन्चरो प्रहार
  • काँचुली खबर

१५ फागुन, कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ नौलापुरमा तीन जना युवामाथि सांघातिक आक्रमण भएको छ । सोमबार राती १० बजेको समयमा नौलापुरमा बिवाह हेर्न गएका युवामाथि सांघातिक आक्रमण भएको भएको हो ।

विवाह चलिरहेको समयमा दश जनाको समूहमा आएको अज्ञात समूहले तीन जना युवामाथि बच्चरो प्रहार गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बच्चरो प्रहारबाट तीन जना युवा गम्भीर घाइते भएका छन् । उनीहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीका अनुसार गम्भीर घाइते हुनेमा जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ५ घर भइ हाल बैजनाथ ४ मा बसोबास गर्दै आइरहेका २६ वर्षीय शिव सुनार, बैजनाथ गाउँपालिका वडा नम्बर ४ का कविर बुढाथोकी र कोहलपुर नगरपालिका वडा नम्बर ३ मदनचोकका २१ वर्षीय घनश्याम बुढाथोकी रहेका छन् । तीनै जनाको टाउकोमा गम्भीर चोट लागेको छ ।

‘तीनै जनालाई ज्यान मार्ने मनसायले आक्रमण गरेको देखिन्छ, तिनै जनाको टाउकोमा चोट लागेको छ । उनीहरुको आइसियूमा उपचार भइरहेको छ,’ तिवारीले भने । घटनामा धारिलो हतियार बन्चरो प्रहार भएको तिवारीले बताए ।

पीडित सुनारको टाउँकोसहित मुखमा गम्भीर चोट छ । त्यस्तै कवि बुढाथोकीको टाउको, हात र मुखमा चोट लागेको छ । यस्तै शरिरका अन्य भागमा पनि गहिरो चोट लागेको छ । घनश्यामको पनि टाउकोमा गम्भीर चोट छ ।

घटनास्थलका प्रत्यक्षदर्शीहरुका अनुसार उनीहरुलाई दश जनाको समूहले सामूहिक आक्रमण गरेको थियो । बच्चरो प्रहार भएका तीनै जना घाइते अवस्थामा भेटिएका थिए । उनीहरु बाटोमै लडिरहेको अवस्थामा भेटिएपछि स्थानीयले आफन्तलाई खबर गरेका थिए । त्यसपछि उनीहरुलाई राती नै शिक्षण अस्पताल कोहलपुर पुर्याइएको थियो । घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

किटानी जाहेरी दर्ता, एकजना पक्राउ

सोमबार राती भएको आंघातिक आक्रमणमा संलग्नविरुद्ध इलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दर्ता भएको छ । पीडितहरुको तर्फबाट गम्भीर घाइते शिव सुनारकी दिदी पूजा सुनारले इलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दर्ता गरेकी छन् ।

सुनारले ज्यान मार्ने उद्योग सम्बन्धि कसूरमा दर्ता गरेको जाहेरीमा सोमबार अन्दाजी १० बजेतिरको समयमा १० जनाको समूहमा आएको युवाहरुको समूहले बन्चरो प्रहार गरेको उल्लेख छ । सुनारले घटनामा संलग्न भएको आरोपमा कोहलपुर नगरपालिका वडा नम्बर १ कोशिलानगर अन्दाजी २३ वर्षीय कुसल परियार र तिलक परियारसहित दश जनाविरुद्ध मुद्दा दर्ता गरेकी हुन् ।

घाईतेको परिवारको तर्फबाट ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय कोहलपुरले पुष्टि गरेको छ । विवाहको रमाइलोबाट फर्किदै गर्दा एक्कासी आक्रमण भएको जाहेरीमा उल्लेख गरिएको छ । बन्चरो प्रहारको घटनामा संलग्नहरुलाई पक्राउ गरी हदैसम्म कारबाही गर्न माग गरिएको छ । यस्तै घाइतेहरुको उपचार खर्च र क्षतिपूर्ति समेत माग गरिएको छ ।

यता, इलाका प्रहरी कार्यालय कोहलपुरले घटनामा संलग्न भएको आरोपमा कुसल परियारलाई पक्राउ गरेको जनाएको छ । उनलाई घटनास्थलबाटै दुई वटा बन्चरोसहित पक्राउ गरिएको तिवारीले बताए । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

  • १५ फाल्गुन २०८०, मंगलवार १८:०९ प्रकाशित
  • Nabintech