२० बैशाख २०८१, बिहीबार
राज्यलाई लुट्न खोज्ने जो कोहिलाई छोडिन्न : गृहमन्त्री श्रेष्ठ
  • काँचुली खबर

११ फागुन, नेपालगन्ज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यलाई लुट्न खोज्न कसैलाई पनि नछाड्ने उद्घोष गरेका छन । शुक्रबार नेपालगन्जमा आयोजित पत्रकार तथा नागरीक समाजका अगुवाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अपराध गर्ने जुनसुकै ओहदा वा पार्टीको भए पनि नछाड्ने बताएका हुन ।

शुसासनकालागी सरकारले निरन्तर प्रयास गरीरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले शुसासन अभावले विकासले अपेक्षित फड्को मार्न नसकेको जिकिर गरे । सरकारले थालेको शुसासन अभियानले जनस्तरमा सकारात्मक सन्देश प्रवाह भएको जिकिर गर्दै श्रेष्ठले भने, “जतिसुकै राजनीतिक पहुँच भएपनि अपराध गर्नेले कानुनबाट छुट पाउदैन भन्ने सन्देश गएको छ । यो सरकारको ठुलो उपलब्धी हो ।”

राजनीतिक नेता, ब्यवसायी र कर्मचारीकै कारण शुसासन खलबलिएको मन्त्री श्रेष्ठको तर्क थियो । उनले भने, “नेता, ब्यवसायी र कर्मचारीको बलियो गठबन्धन देखिएको छ । जसका कारण शुसासन खलबलिएको छ, त्यसलाई ट्रयाकमा ल्याउन आवश्यक छ ।”

पञ्चायकालदेखि गृहमन्त्रीहरुले खादै आएको सुराकी खर्च कटौती, राष्ट्रिय परिचयपत्र निजि कम्पनीलाई छाप्न दिने निर्णय खारेज, मिटरब्याजको समस्या समाधानकालागी कानु्न निर्माण, राज्यले प्रदान गर्ने तक्माको गौरव कायम राख्ने प्रक्रिया सुरू लगाएतका सकारात्मक प्रयास सुरु भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले वर्तमान सरकारले छोटो समयमै देश र जनताका लागि उदाहरणीय कामहरू गर्दै अगाडि बढेको बताए ।

गृहमन्त्री श्रेष्ठले निजामती, प्रहरी र शिक्षा ऐन पारितको अन्तिम चरणमा रहेको जानकारी समेत दिए ।

यसअघि शुक्रबार नै नेपलालगन्जमा आयोजना गरीएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, आर्थिक अवस्थामा सुधार र सामाजिक रुपान्तरणसँगै विकास निर्माणका काममा सरकारले उल्लेखनीय कार्यहरू गरेको बताए ।

उनले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न अझै पनि ठुला ठुला कार्य गर्ने प्रतिबद्धता जनाउँदै भ्रष्टाचार र देशको सम्पत्ति लुट्ने कार्यमा संलग्न कसैलाई पनि नछोडिने प्रष्ट पारे ।

मन्त्री श्रेष्ठले भने, ‘सरकारले सुरु गरेका सुशासनका काम पुरा गर्न कुनै पनि दबाब र हस्तक्षेपका अगाडी झुक्ने छैन, गलत कार्यमा संलग्न मानिस जुनसुकै ओहोदा वा दलको भए पनि कानुनी दायरामा ल्याइनेछ ।’

नेपाली काँग्रेससँगको वर्तमान सत्ता गठबन्धन पुरै अवधिका लागि जारी रहने जनाउँदै उनले यो सरकारले नेपाली जनतामा सकारात्मक सन्देश दिन सफल भएको बताए ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले देशको आर्थिक अवस्थामा समेत सानो समयमै धेरै सुधारका सङ्केतहरू देखिएको जनाउँदै प्रधानमन्त्री प्रचण्डले बढी भन्दा बढी आर्थिक क्रियाकलाप र गतिविधि गर्न सकिने गरी बजेट ल्याउने छलफल चलिरहेको बताए ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले सरकारलाई सफल बनाउन पार्टी पनि बलियो र चलायमान हुनु अति आवश्यक भएको जनाउँदै नेता तथा कार्यकर्तालाई गुटबन्दीमा नलाग्न आग्रह गरे ।

उनले व्यक्तिगत स्वार्थका लागि गरिने गुटबन्दी पार्टीका लागि सबैभन्दा घातक हुने बताउँदै गुटबन्दी नगरी पार्टीको विधि र विधान अनुसार अगाडि बढ्नु आवश्यक रहेको कुरामा विशेष जोड दिए ।

वर्तमान सरकारले नेपालको इतिहासमा नभएका कामहरू गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले पार्टीका नेता कार्यकर्तालाई जनताको घर घरमा पुगेर सरकारका राम्रा कामको प्रचार गर्न निर्देशन समेत दिए ।

  • ११ फाल्गुन २०८०, शुक्रबार १७:०० प्रकाशित
  • Nabintech