१७ बैशाख २०८१, सोमबार
कुटपिटबाट जानकीका मुनिर खाँको मृत्यु
  • काँचुली खबर

२५ माघ, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा स्थानीयको कुटपिटबाट एक २० वर्षीय युवकको मृत्यु भएको छ ।

स्थानीयको कुटपिटबाट जानकी गाउँपालिका १ बढैयाका २० वर्षीय युवा मुनिर खाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए ।

स्थानीयको कुटपिटबाट घाइते हुनुभएका मुनिरको उपचारका क्रममा आज बिहान नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको उनले बताए ।

गत शुक्रबार सामान्य विषयमा झगडा हुँदा स्थानीयले हातपात गरि मुनिरलाई कुटपिट गरी घाइते बनाएको र घाइते भएका मुनिरलाई उपचारका लागि उक्त अस्पतालमा भर्ना गरिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।

मृतक मुनिरको शव पोष्टमार्टम गरी अन्तिम संस्कारका लागि परिवारका सदस्यलाई बुझाइएको छ । प्रहरी निरीक्षक घिमिरेका अनुसार परिवारका सदस्यले मुनिरलाई कुटपिट गर्ने पाँच जना स्थानीयको नाममा प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

मुनिरलाई कुटपिट गर्ने उक्त व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • २४ माघ २०८०, बुधबार १५:५२ प्रकाशित
  • Nabintech