१७ बैशाख २०८१, सोमबार
किटजन्य प्रजाती संरक्षणकालागी जीन बैंक स्थापना (फोटोफिचर)

भमरा र मौरी लोप भएमा मानव जिवन नै संकटमा पर्ने विज्ञहरुको चेतावनी

  • काँचुली खबर

१८ पुष, कोहलपुर । किटजन्य प्रजातीको संरक्षणकालागी बाँकेको कोहलपुरमा जीन बैंक स्थापना गरीएको छ । लोपोन्मुख अवस्थामा रहेका भमरा, मौरी तथा किटजन्य प्रजातिको संरक्षण गर्ने उद्धेश्यले कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलमा जीन बैंक स्थापना गरीएको हो ।

सामुदायीक जिन बैंक संजाल बाँकेको पहल तथा कृषि अनुसन्धान निर्देशनालय (नार्क)को प्राबिधिक सहयोगमा गोरखा स्कुलमा स्थापना भएको जिन बैंकको एक समारोहका बिच कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य र नार्कका बैज्ञानिक डा. मुकुन्द भट्टराईले संयुक्त रुपमा उद्घाटन गरेका छन ।

फर्सि, लौका, भाँटा, तोरी जस्ता बालिहरुको पराग सेचनमा मुख्य योगदान दिने भमरा, मौरी तथा मौरीजन्य किटहरु दिनप्रतिदिन लोप हुँदै गईरहेको सन्दर्भमा बाँकेका विभिन्न विद्यालय तथा समुदायस्तरमा जीन बैंक स्थापना गरी लोपोन्मुख प्रजाती संरक्षणको अभियान संचालन गरीएको सामुदायीक जिन बैंक संजाल बाँकेका अध्यक्ष पुर्मल बस्नेतले बताए ।

अक्सिजन उत्पादनमा मुख्य भुमिका राख्ने किटजन्य जिन बैंकबारे चर्चा गर्दै बस्नेतले भमरा, मौरी, अरिंगाल, झिमृ, कीटौरी मौरी एवं मौंरीजन्य किटका कारण फुल खेल्ने बालिमा पराग सेचन भई बालि उत्पादन हुने उल्लेख गर्दै पछिल्लो समय किटजन्य प्रजाती लोप हुँदै जाँदा कृषी उत्पादनमा ह्रास आईरहेको जिकिर गरे । उनले भमरा र मौरी प्रजातीका किराहरु लोप भएमा मानव जिवन नै संकटमा पर्ने भन्दै समयमै सचेत हुन आग्रह समेत गरेका छन ।

कोहलपुरलाई आफुले किटजन्य बैंकको नमुना पालिका भएको हेर्न चाहेको भन्दै बस्नेतले कोहलपुरमा राष्ट्रिय स्तरको कीट पाठशाला बनाउन आग्रह समेत गरे ।

१५ वर्षदेखी एक्लै किट संरक्षणमा जुटेका बस्नेतको अगुवाईमा यसअघी कोहलपुरकै बाल ज्योती सेकेण्डरी स्कुल, ग्रिन पिस स्कुल र रारा आधारभुत स्कुल गाभरमा घाँसजन्य बैंक स्थापना भईसकेका छन ।

सामुदायिक जिन बैंक हुनलाई ६ प्रकारका अनुबांशिक श्रोतहरुको संरक्षण गरिएको हुनुपर्ने जिन बैंक सञ्जाल बाँकेका सचिव कृष्ण चौधरीले बताए । ६ प्रकारका अनुबांशिक श्रोतहरुको संरक्षणकालागी दुई वर्ष अघि नै गाभर भ्यालिमा जीन बैंक स्थापना गरीएको जानकारी दिदैं चौधरीले विद्यालयस्तरमा समेत यसलाई बिस्तार गर्ने अभियान थालिएको बताए ।

जलिय तथा जलजन्य जिन, घाँसे जिन, अन्नपात जिन, किटजन्य जिन, सुक्ष्मजिव जन्य जिन र पशुपंक्षिजन्य जिनहरु पृथ्वीबाट लोप हुँदै गई वातावरणिय साईकल चर्क नै समाप्त हुने अवस्था आईरहेको सन्दर्भमा अहिले सामुदायिक जिन बैंक सञ्जालले देश भर नै यस्ता जिन बैंकको स्थापना, संरक्षण र संर्बद्धन गर्दै आईरहेको सन्दर्भमा गोरखा युनाईटड स्कुलमा किट जन्य बैंकको स्थापना गरिएको चौधरीले बताए ।

किटजन्य जिन बैंकको स्थापना गर्दै कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले मानव जातीकालागि आवश्यक पर्ने पञ्च तत्व प्राप्तिकालागि यी ६ प्रकारका बर्गिकृत जिनहरुको अत्यत्न महत्व भएको उल्लेख गर्दै नगरपालिकाले यस्ता जिन बैंकहरुको स्थापना, सञ्चालन तथा संवद्र्धन तथा संरक्षणमा विषेश चासो दिएको उल्लेख गरे ।

आवश्यकताका आधारमा यस्ता जिन बैंकहरुको संरक्षणमा सहयोग गर्न नगरपालिका तयार रहेको उल्लेख गर्दै आचार्यले कोहलपुर क्षेत्रका विद्यालयहरुले जिन बैंकको स्थापना गरी वालवालिकाहरुलाई सिकाईको स्तरमा समेत बैज्ञानिकिकरण गरेको भन्दै प्रशंसा गरेका थिए ।

जिन बैंक स्थापना कार्यक्रममा कृषि अनुसन्धान निर्देशनालय (नार्क)का बैज्ञानिक एवं कार्यक्रममा बिशिष्ट अतिथी डा. मुकुन्द भट्टराईले मानवको अन्तिम अवस्थामा भेण्टिलेटरमा अक्सिजन दिनेबेलासम्म किटजन्य आनुबंशिकहरुको योगदान रहने भन्दै यस्ता आनुबंशिक बैंकहरुको स्थापना र संरक्षण गरिनुपर्नेमा जोड दिए । उनले यस्ता जिन बैंकको स्थापना पश्चात पनि प्राबिधिक तथा बैज्ञानिक सहयोग गर्न नार्क सधै तत्पर गरेको उल्लेख गर्दै हरेक क्षेत्रमा अब यस्ता अनुबंशको संरक्षण अपरिहार्य भएको बताए ।

  • १८ पुष २०८०, बुधबार १७:३८ प्रकाशित
  • Nabintech