१५ बैशाख २०८१, शनिबार
आफैले गरेको प्रतिवद्धता पुरा गर्दैनन् बाँकेका स्थानिय तह

कोहलपुर र बैजनाथले पूरा गरेनन् स्वास्थ्यजन्य फोहर व्यवस्थापन सम्बन्धि प्रतिबद्धता

  • काँचुली खबर

२६ मंसिर, कोहलपुर । सोमबार दिउँसो चार बजे कोहलपुर नगरपालिकाको सरस्वती सामुदायिक वनमा रहेको डम्पिङ साइटमा पुग्दा तीन वटा ट्रेक्टर फोहोर ओसारिरहेका थिए । ‘यो हवल्दारपुरतिरको फोहर हो । कौशल्या मेमोरियल अस्पतालको फोहर पनि यसैमा छ’, कोहलपुर नगरको फोहर व्यवस्थापनको जिल्ला लिएको जटायु रिसाइकल्स ट्रेक्टरका चालक तुलसीराम थारुले भने । ट्रेक्टरले फोहरलाई भीरबाट तल खसाल्यो । जहाँ फोहरमा यसअघि नै आगो दन्किरहेको थियो ।

गाडीबाट फोहर फाल्ने शुभबहादुर गुरुङले न त मास्क लगाएका थिए, न पञ्जा नै । उनी घाँस खाँद्दै फाले झै फोहरको बोरा भीरबाट मिल्काइरहेका थिए । उनले दुःखेसो पोखे, ‘पञ्जा र मास्क दुई तीन पटक मागिसके । पाएको छैन ।’ उनको पकेटमा कपडाको कालो मैलो मास्क रहेछ तर लगाएका थिएनन् । जटायुकै फोहर फाल्न आएको ३३९६ नं. को ट्रेक्टरका चालक सन्तोष थारुले पनि सुरक्षाका कुनै विधि अवलम्वन गरेका थिएनन् । सँगै रहेका दिनेश गोडियाले भने बुट र पञ्चा लगाएका थिए । गोडियाले तीन पटक सुँइले घोचिसकेको बताए ।

गेरुवा ग्रामीण जागरण संघले आयोजना गरेको कार्यक्रममा कोहलपुर नगरपालिकाले स्वास्थ्यजन्य फोहरको उचित व्यवस्थापनका लागि दुई महिना अघि गरेको प्रतिबद्धतामा फोहर व्यवस्थापनमा संलग्न कर्मचारीको ब्यक्तिगत सुरक्षा मापदण्ड अनुशरण गरेको निश्चित गर्ने उल्लेख छ तर यो प्रतिबद्धता लागू भएको देखिँदैन । सार्वजनिक सरोकारका विषयमा स्थानीय तहले प्रतिबद्धता गर्छन् तर पूरा गर्दैनन् भन्ने यो एउटा ज्वलन्त उदाहरण हो ।

बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको नेतृत्वले स्वास्थ्यजन्य फोहरको उचित व्यवस्थापनका लागि दुई महिना अघि गरेको प्रतिबद्धता पूरा नगरेका हुन् । नेपाल सरकारको स्वास्थ्य संस्थाजन्य फोहरमैला व्यवस्थापन मापदण्ड २०७७ अनुसार स्थानीय तहले गर्नुपर्ने व्यवस्थाबारे २४ असोजमा दुबै स्थानीय तहका जनप्रतिनिधि, शिक्षा र स्वास्थ्य शाखाका जिम्मेवार अधिकारीले ७ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

कोहलपुर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले प्रतिबद्धता अनुसार स्रोतमै स्वास्थ्यजन्य फोहरको वर्गीकरण गरिरहेको बताए । नगरले फोहरको वर्गीकरण गरे पनि कोहलपुरको सामुदायिक वनमा बनाएको डम्पिङ साइटमा भने एउटैमा मिसाएर फाल्ने गरेको फोहरको गाडी बोक्ने ट्याक्टरका चालक तुलसीराम थारु बताउँछन् । ‘संकलन गरेर ल्याउने हो । जस्ताको तस्तै ल्याएर फाल्ने हो’, उनले प्रष्ट पारे । स्वास्थ्यजन्य फोहर पनि नगरपालिकाले आगो लगाउने गरेको सोमबार स्थलगत अवलोकनमा भेटिएको थियो ।

प्रतिबद्धतापछि केही सुधारका कामहरु भएको दाबी गर्छिन्, नगरको खानेपानी, वातावरण तथा सरसफाई उपशाखा प्रमुख मनकामना सिंह ।

कोहलपुर जस्तै बैजनाथ गाउँपालिकाले पनि यस्तै प्रतिबद्धता जनाएको थियो । गाउँपालिकाले फोहर व्यवस्थापनको फोकल पर्सन तोक्ने बाहेकका अरु काम हुन सकेका छैनन् ।

गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्यले प्रतिबद्धता अनुसारका कामहरु हुन नसकेको स्वीकार गरे । उनले फोहर व्यवस्थापनका लागि निजीक्षेत्रलाई जिम्मेवारी दिएकाले उसले नै काम गरिरहेको बताए ।

बैजनाथ गाउँपालिकामा पनि स्वास्थ्यजन्य फोहर छुट्टा छुट्टै संकलन गरेर अन्तिममा डम्पिङ साइटमै फाल्ने गरिएको वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अनमी दुर्गा भण्डारी । यो स्वास्थ्य संस्थामा स्वास्थ्यजन्य फोहर निमूलीकरण गर्ने दुई-दुई वटा अटोक्लेभ मेसिन थन्काएर औषधिजन्य फोहरलाई डम्पिङ साइटमा फाल्ने गरिएको छ । बैजनाथले पनि फोहर व्यवस्थापनका लागि निजी क्षेत्रलाई नै जिम्मा दिएको छ ।

कोहलपुर र बैजनाथमा वास सम्बन्धी परियोजना सञ्चालन गरेको गैरसरकारी संस्था गेरुवा ग्रामीण जागरण संघ बर्दियाका कार्यकारी निर्देशक हरि सुवेदी स्थानीय तहले विगतमा गरेका प्रतिबद्धता कार्यान्वयन गर्नु बाध्यकारी हुने बताउँछन् । उनी भन्छन्, ‘प्रतिबद्धता जनाउने कार्यान्वयन नगर्ने हो भने कुनै प्रतिफल आउँदैन । स्थानीय तहले नीति, योजना र कार्यक्रम बनाएर विगतका प्रतिबद्धता कार्यान्वयन गर्नुपर्छ ।’

-मेरोखुसीबाट

  • २६ मंसिर २०८०, मंगलवार १७:११ प्रकाशित
  • Nabintech