२४ बैशाख २०८१, सोमबार
बन्दुक बिसाएर वन्यजन्तु संरक्षणमा जुटेका युवाहरुको कथा
  • काँचुली खबर

२५ मंसिर, सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जसित जोडिएको सुर्खेतको बराहताल गाउँपालिका-३, राजकाँडाका रणबहादुर बुढाको दैनिकी फेरिएको १२ वर्ष बितिसक्यो । कुनै बेला भरुवा बन्दुक बोकेर उनि निकुञ्ज छिर्थे । बँदेल, रतुवा र जरायोको सिकार गर्थे र सुकुटी बनाएर बेच्थे । उनको आम्दानीको मुख्य बाटो नै यही थियो । तर, हिजोआज यिनै रणबहादुर वन्यजन्तु संरक्षणमा मात्रै जुटेका छैनन्, आम्दानीको फरक बाटो समातेर व्यस्त दैनिकी बिताइरहेका छन् ।

हिजोआज रणबहादुर र उनकी पत्नी धनसरालाई खेतीपाती र बस्तुभाउ स्याहार्न भ्याइनभ्याइ छ । खोरका २८ बाख्रा, भर्खरै ब्याएको एउटा भैंसी र एक हल गोरुको रेखदेखले मात्रै उनको काम सकिँदैन । निकुञ्जसँग जोडिएको पाखोबारीमा लगाइएको गहुँ र चनादेखि अदुवा, टिमुर, आँप र कागतीको स्याहारमा उनको समय बित्छ । यसका अलावा उनले घरछेउमा दुई कोठाको होमस्टे पनि चलाएका छन् ।

२०५६ मा जन्मेका उनका जेठा छोरा डम्बर कैलालीको लम्कीमा बसेर पढ्दै छन् । छोराको जन्म साल उनलाई बारम्बार याद किन आउँछ भने त्यही सालबाट उनले वन्यजन्तु सिकार थालेका थिए । त्यसो गर्नु त्यतिबेलाको उनको बाध्यता थियो । परम्परागत खेतीपातीले खानै पुग्थेन । ‘कि भारत गएर मजदुरी गर्नुपर्थ्यो,’ रणबहादुरले भने, ‘हैन भने सिकार गरेर जनावरको सुकुटी बनाएर बेचेर गुजारा गर्थ्यौं ।’ उनले आफ्ना बुबाको भरुवा बन्दुक चलाउन सिकेका थिए । त्यही लिएर सिकार खेल्न निस्कन्थे । ‘मेरो मात्रै होइन, यहाँका अधिकांशको काम सिकार गर्ने थियो,’ उनले भने, ‘जंगलमा जनावर मार्ने, सुकुटी तयार गरेर ल्याउने र दलाललाई बेच्ने गरिन्थ्यो ।’ यसरी उनले ६र७ वर्ष सिकारमा बिताए ।

बर्दिया निकुञ्ज मुख्यालयबाट टाढा र सुरक्षा पोस्ट नभएकाले रोकटोक गर्ने कोही हुन्थेन । मुलुकमा सशस्त्र द्वन्द्वका बेला चुरे क्षेत्रमा चोरी सिकारले मौलाउने अवसर पाएको थियो । चुरे क्षेत्रका बस्ती बर्दिया र सुर्खेतको पानीढलोमा रहेका छन् । दक्षिणपट्टि निकुञ्ज रहेको छ । उत्तरतर्फ बस्ती छन् । चुरेको चुली नै बस्ती र जंगल छुट्याउने सिमाना हो ।

वन्यजन्तु हानि नियन्त्रण गर्न र उत्तरी क्षेत्रका बासिन्दालाई संरक्षणमा क्रियाशील गराउन २०६७ पुस १ मा निकुञ्ज प्रभावित सुर्खेतका बस्ती समेटेर मध्यवर्ती क्षेत्र घोषणा गरियो । त्यसपछि यहाँका युवालाई समूहमार्फत संरक्षण शिक्षा प्रदान गर्न थालियो । उत्तरी क्षेत्रमा मध्यवर्ती सामुदायिक वन गठन गरेर चारवटा उपभोक्ता समिति बनाइयो । गाउँमा संरक्षण क्रियाकलाप सुरु भएपछि रणबहादुर चोरी सिकारमा संलग्नको आरोपमा पक्राउ परे । उनलाई निकुञ्ज मुख्यालय ठाकुरद्वारा लगियो । त्यसबेला उनकी बहिनी चन्द्रा तरङ्गा-सिद्धचुली मध्यवर्ती उपभोक्ता समितिकी कोषाध्यक्ष थिइन् । ‘ममाथि आरोप मात्र थियो, प्रमाणसहित पक्राउ परेको थिइनँ,’ रणबहादुरले भने, ‘त्यसैले समितिले जिम्मेवारी लिएपछि १० हजार धरौटी बुझाएर छुटें ।’

यो घटनापछि सिकार गरेको पाइएमा समितिले जिम्मेवारी नलिने भयो । आफ्नै बहिनी चन्द्रा संरक्षणमा लागेका बेला आफू पक्राउ परेको र समितिले यस्ता घटना दोहोरिए जिम्मेवारी नलिने भएपछि रणबहादुरले आफूलाई परिवर्तन गर्ने सोच बनाए । त्यसपछि उनले बन्दुक बहिनीलाई बुझाएर संरक्षणमा सक्रिय हुने प्रतिबद्धता जनाए । बन्दुक बुझाएकै दिनबाट आफ्नै खुट्टामा उभिएर देखाउने कसम खाएको उनले बताए । बन्दुक बुझाएपछि सिकारमा आश्रित अन्य स्थानीय बासिन्दा रणबहादुरसित रिसाए । त्यस्ता व्यक्तिले रणबहादुरलाई ‘मार्छु’ समेत भने । वन्यजन्तु संरक्षण गर्दा मिल्ने लाभ र मारेपछि हुने कानुनी कारबाहीबारे बुझाएपछि स्थानीय हतियार बुझाउन तयार भएको उनले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी मध्यवर्ती क्षेत्र सुर्खेत जिल्लामा अवैध हतियार बुझाउन आएका स्थानीय । तस्बिर सौजन्य : राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया

बन्दुक बुझाएपछि आसपासका गाउँबाट समेत सिकार छाडेर संरक्षणमा सक्रिय हुने बढ्दै गए । रणबहादुरका अनुसार गाइनेकाँडा, राजकाँडा, बुङगाड, सिद्धगैरा र गुराँसेबाट ११ थान बन्दुक स्वस्फूर्त बुझाइएको थियो । अहिले यहाँ कोही पनि सिकारमा संलग्न नरहेको रणबहादुरले बताए । ‘परिवार नै संरक्षणमा सक्रिय छन्,’ उनले भने, ‘गाउँले नै चोरी सिकार रोक्न लागेका छन् ।’

बराहताल-३, लेकगाउँका गंगाराम सुनार गुजाराका लागि भारतका विभिन्न स्थानमा पुगेर मजदुरी गर्छन् । यसपटक दसैं मनाउन गाउँ फर्किएका उनी मंसिर तेस्रो साता भारतको गढवाल मजदुरी गर्न जाने तयारीमा छन् ।

आफ्ना बाउ-बाजेले समेत गाउँमा सिकार गर्ने उनले सुनाए । पहिले वन्यजन्तु जोगाउनुपर्छ भन्ने माहोल थिएन । गाउँलेलाई संरक्षण गरेबापत लाभ मिल्छ भन्ने जानकारी थिएन । यहाँका बस्तीलाई निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा गर्ने बेला आएका निकुञ्ज कर्मचारीले विकास निर्माण हुने, गाउँमा सडक बन्ने र खानेपानी उपलब्ध हुने आश्वासन दिएको सुनारले बताए । संरक्षणमा सघाएबापत गाउँ विकास हुने र आय आर्जनका कार्यक्रम सञ्चालन हुने आश्वासन पाएपछि लेकगाउँ, नर्सिङकाँडा, हर्रेकाँडा, केलाडीलगायत बस्तीबाट ६८ थान भरुवा बन्दुक बुझाएको उनले बताए । हतियार बुझाउनुभन्दा पहिले गाउँमा चाडबाड आयो कि जंगलमा सिकार खेल्न जाने चलन थियो । ‘चाडबाडमा जंगल गएर घोरल, मृग हानौं भन्ने हुन्थ्यो,’ उनले भने, ‘वन्यजन्तु मारे कानुन लाग्छ भन्ने जानकारी थिएन ।’ मध्यवर्ती क्षेत्र घोषणासँगै कानुनी प्रावधानबारे बुझेपछि हतियार बुझाएको उनले बताए ।

सुर्खेतको वराहताल गाउँपालिका १, तेलपानीमा रहेको होमस्टे ।

बराहताल-१, तेलपानी गाउँ निकुञ्जको ढिकमा छ । यहाँका बासिन्दा खेतीपातीमा निर्भर छन् तर पनि उब्जनीले बाह्रैमास धान्दैन । त्यसैले ८० हाराहारी घर रहेको बस्तीका अधिकांश बासिन्दा मजदुरीका लागि भारतका विभिन्न सहर आउजाउ गर्छन् । ‘अन्नबाली आधा भित्र्याउँछौं,’ स्थानीय दलबहादुर वलीले भने, ‘आधा वन्यजन्तुले खान्छन् ।’ निकुञ्जले वन्यजन्तुले बाली नोक्सान पुर्‍याएबापत राहत दिन्छ । तर, यहाँका बासिन्दाका लागि राहत लिन सहज छैन । राहतका लागि सिफारिस बनाउन वडा कार्यालय पुग्न एक दिन लाग्छ । कृषि र भेटनरी कार्यालय त्यति नै दूरीमा छन् । निकुञ्जको मुख्य कार्यालय आउजाउ गर्न बास बस्नुपर्छ । ‘चार हजार राहत लिन आठ हजार रुपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘प्रक्रियामै धेरै खर्च हुने भएपछि राहत लिन कोही जाँदैनन् ।’

तेलपानीबाट सुर्खेत सदरमुकाम वीरेन्द्रनगर २० किलोमिटर दूरीमा छ । दक्षिणमा बर्दियाको भुरीगाउँ बजार नजिक रहेको छ । यहाँको हरिहरपुर मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत चोरी सिकार नियन्त्रण युवा परिचालन उपसमिति अध्यक्ष डम्बरबहादुर बडुवालले मध्यवर्ती क्षेत्र घोषणापूर्व चोरी सिकारका घटना धेरै हुने गरेको बताए । मध्यवर्ती क्षेत्र घोषणापछि स्थानीय युवा संरक्षणमा क्रियाशील भएकाले चोरी सिकार नियन्त्रण सम्भव भएको उनले बताए । उपसमितिमा ५१ जना युवा आबद्ध छन् ।

‘हामीले चोरी सिकार गर्दा दुःख पाइन्छ, जेल जानुपर्छ भनेर कानुनी व्यवस्थासम्बन्धी बुझाउने गरेका छौं,’ उनले भने, ‘टोल–टोलमा संरक्षणसम्बन्धी जनचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छौं ।’ उनका अनुसार साविक हरिहरपुर गाविसबाट ७८ थान हतियार बुझाएका थिए । शिक्षा अभावले गर्दा स्थानीयलाई सम्झाउन चुनौती रहेको उनले बताए । यहाँ संरक्षणमा क्रियाशील व्यक्तिले दुःख दिएको र सिकार गर्न बाधा पुर्‍याइरहेको भ्रम स्थानीयमा रहेकाले त्यो हटाउन चुनौती रहेको उनले बताए । मध्यवर्ती क्षेत्र स्थापनापछि निकुञ्जको आम्दानी बाँडफाँट भएर उपभोक्ता समितिमा आउने र उक्त आम्दानी बाँडफाँटको आधार जनसंख्या बनाइएकाले थोरै रकम आउने गरेको बडुवालले बताए । ‘यहाँका लागि राजस्व बाँडफाँटको आधार भूगोल बनाउनुपर्छ,’ उनले भने, ‘तराईमा जस्तो यहाँ धेरै जनसंख्या छैन ।’

सुर्खेतको वराहताल गाउँपालिका १, तेलपानीमा रहेको होम स्टेमा आएका पाहुनालाई खाजा बनाउँदै ।

तरङ्गा-सिद्धचुली उपभोक्ता समिति अध्यक्ष चन्द्रा बुढाले उत्तरी क्षेत्रमा मध्यवर्ती क्षेत्र स्थापना हुनुभन्दा अगाडि अधिकांशले सिकार खेल्ने गरेको बताइन् । आफ्ना दाइ रणबहादुर समेत सिकारमा संलग्न भएकाले घरभित्रबाटै बन्दुक बुझाएर संरक्षण अभियान अगाडि बढाइएको उनले बताइन् । मध्यवर्ती क्षेत्र घोषणा भएपछि आर्थिक वर्ष २०६७-६८ र २०६८-७९ मा स्थानीयलाई संरक्षणको महत्त्व बुझाएर बन्दुक संकलन गरिएको बताइन् । २०६४ सालमा संरक्षणसम्बन्धी तालिममा सहभागी भएपछि आफू अभियानमा संलग्न भएको उनले बताइन् । बन्दुक बुझाएर स्थानीय संरक्षणमा क्रियाशील भए पनि निकुञ्जले यहाँका बासिन्दाको जीवनस्तर उकास्न ध्यान नदिएको उनले बताइन् । उनले भनिन्, ‘सुरुमा निकुञ्जले विभिन्न परियोजना ल्याउने भनेको थियो, अहिले त्यस्ता कार्यक्रम सञ्चालन नहुँदा स्थानीयमा आक्रोश र निराशा छ ।’

बर्दिया राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले निकुञ्जको आम्दानीबाट चुरेका बस्तीमा केही प्रतिशत शिक्षा, स्वास्थ्य र खानेपानीमा खर्च गर्न सकिने साथै निकुञ्जले सञ्चालन गर्ने परियोजनाबाट स्थानीयको जीविकोपार्जनमा सहयोग पुग्ने उद्देश्यले मध्यवर्ती क्षेत्रमा समावेश गरिएको बताए । यहाँका बासिन्दाको चोरी सिकार पेसा नभए पनि उनीहरूले हतियार राख्ने र बाहिरबाट आएका व्यक्तिले दुरुपयोग गरेको पाइएपछि कानुन सम्झाएर अवैध हतियार परित्याग गर्न लगाइएको उनले बताए । ‘संरक्षणका दृष्टिकोणले त्यस्ता हतियार चुनौती थिए,’ उनले भने, ‘बाहिरी मान्छे आएर सिकारमा प्रयोग गर्थे ।’

सुर्खेतको वराहताल गाउँपालिका, हर्रैकाडमा रहेको होमस्टे ।

कानुनी रूपमा प्रक्रिया मिलाएर हतियार बुझाएपछि स्थानीयलाई १० वाटको सोलार प्यानल र ५ हजार नगद उपलब्ध गराइएको उनले बताए । स्थानीयको आयआर्जनमा सघाउन चारवटा उपभोक्ता समितिअन्तर्गत समूह बनाएर २-२ लाख रुपैयाँ दरले बीउ पुँजी उपलब्ध गराएर बचत सुरुवात गरिएको उनले बताए । उनले तराई भू-परिधि कार्यक्रम (ताल) र प्रकृति संरक्षण कोषले आयआर्जनका कार्यक्रम सञ्चालन गरेको बताउँदै पर्यटन प्रवर्द्धन गरेर चुरेका बासिन्दाको जीविकोपार्जनमा सघाउनुपर्ने तर्क सुनाए ।

बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले उत्तरी क्षेत्र भौगोलिक रूपमा विकट रहेकाले त्यहाँका बासिन्दाको जीवन कष्टकर रहेको बताए । तर, स्थानीयले अभाव सहेर पनि संरक्षणमा योगदान पुर्‍याइरहेको उनले बताए । ‘सहजै हतियार बुझाएकाले छिटफुटबाहेक चोरी सिकारका घटना भएका छैनन्,’ उनले भने, ‘संरक्षणमा योगदान पुर्‍याउने जनताको जीवनस्तर उकास्ने निकुञ्जको पनि दायित्व हो ।’ उनका अनुसार स्थानीयले उत्तरी क्षेत्रबाट २ सय ४२ थान बन्दुक बुझाएका थिए । ‘बजेट अभाव भएकाले कतिपय आयआर्जनका कार्यक्रम सञ्चालन गर्न सकेका छैनौं,’ उनले भने, ‘मध्यवर्ती अन्तर्गतका १९ उपभोक्ता समितिलाई १० लाखका दरले १ करोड ९० लाख रुपैयाँ बाँडफाँट गरेका छौं ।’

-कान्तीपुरबाट

  • २५ मंसिर २०८०, सोमबार १५:०५ प्रकाशित
  • Nabintech