२९ तोला सुनसहित बाँकेका दुई युवा बर्दियाबाट पक्राउ
  • काँचुली खबर

२४ मंसिर, नेपालगन्ज । बर्दियाको कर्तनियाबाट प्रहरीले ठूलो परिमाणमा अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । शनिबार साँझ इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीबाट खटिएको प्रहरी टोलीले अवैध सुनका गरगहनासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

२८ प्रकारका सुनका अवैध गरगहनाहरूसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दिया स्रोतले जनाएको छ । पक्राउ पर्नेमा बाँके राप्ती सोनारी गाउँपालिका-२ का दिपेन्द्र घर्तीमगर र नेपालगन्ज उपमहानगरपालिका-१९ का मोहन विक रहेका छन् ।

इलाका प्रहरी कार्यालय बाँसगढीबाट प्रहरी निरीक्षक शैलेश्वरी बोहराको कमाण्डमा गएको टोलीले पूर्व पश्चिम राजमार्गमा पर्ने बारबर्दिया नगरपालिका-९ कर्तनियाबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

अवैध रूपमा सुनको कारोबार भइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले टोलीले उनीहरू सवार प्रदेश ३-०१०२३ च ८१६८ नम्बरको गाडीलाई चेकजाँच गर्दा सुनका गरगहना फेला पारेको थियो ।

प्रहरीले उनीहरूलाई सुनका गरगहनाका बिल देखाउन भनेपनि बिल देखाउन नसकेपछि सुनका गरगहना, गाडी र उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बरामद भएका सुनका अवैध गरगहनाको तौल २९ तोला रहेको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

  • २४ मंसिर २०८०, आईतवार २१:३५ प्रकाशित
  • Nabintech