१५ बैशाख २०८१, शनिबार
लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई ५० शय्याको बनाईने
  • काँचुली खबर

२० मंसिर, नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाहरुको स्तरोन्नति र आधुनिकीकरण सरकारको प्राथमिकतामा रहेको बताएका छन । बुधबार नेपालगन्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेश प्रहरी अस्पतालको पनि स्तरोन्नति गरिने बताएका हुन ।

उनले बिरामीको चाप र सेवा हेर्दा प्रहरी अस्पताललाई ५० शय्याको बनाउन आवश्यक देखिएको जनाउँदै प्रक्रिया पुरा गरेर ५० शय्याको स्वीकृति प्रदान गरिने बताए । १५ शय्याको सो अस्पताल अहिलेका लागि निकै सानो र कम क्षमताको रहेकोले अस्पताललाई आवश्यक पर्ने पूर्वाधारसँगै जनशक्ति र उपकरण थप गरेर अस्पतालको स्तरोन्नति गरिने मुख्यमन्त्री चौधरीले बताए । उनले नेपालगन्ज स्वास्थ्य उपचारको हब बन्दै गएकोले सरकारले सरकारी स्वास्थ्य संस्थाहरुलाई आधुनिक प्रविधि र प्राविधिकको अभाव हुन नदिने गरी काम गरिरहेको बताए ।

सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा. अमिनकुमार श्रेष्ठले अस्पतालको गतिविधि र समस्याहरुका बारेमा जानकारी गराउँदै पूर्वाधार र जनशक्तिको अभावले समस्या रहेको बताए । उनले लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका प्रहरी, प्रहरी परिवार र पूर्व प्रहरी तथा उनका परिवारका बिरामीलाई सेवा दिँदै आएको यो अस्पताललाई तत्काल ५० शय्याको बनाउनुपर्ने माग गरे ।

अस्पताल प्रमुख डा. श्रेष्ठले ४२ बेडको अस्पतालको नयाँ भवन निर्माणाधीन रहेकोले सो भवनको निर्माण पूरा हुनेबित्तिकै ५० शय्याको अनुमतिका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । उनले अस्पताललाई सर्वसाधारणका लागि समेत सञ्चालन गर्ने गरी त्यहाँ रहेको करिब ४ बिघा क्षेत्रफलमा अस्पताल स्तरोन्नति गर्नका लागि ‘मास्टर प्लान’ समेत तयार पारिसकिएको बताए । सो अवसरमा अस्पतालका वरिष्ठ चिकित्सकहरु प्रहरी उपरिक्षक डा. अच्युतविक्रम हमाल, डिएसपी डा. आनन्द झालगायत अन्य प्रहरी चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थिति थियो ।

अस्पतालले २४ घण्टा आपत्कालीन सेवासँगै जनरल मेडिसिन, हाडजोर्नी उपचार, इन्टरनल मेडिसिन, कलेजो रोगको उपचार, नाक कान घाँटी उपचार, दाँतको विशेषज्ञ उपचारसहित माइनर अपरेसन, ल्याब, एक्सरे र फिजियोथेरापी सेवा प्रदान गर्दै आएको छ । सोही प्रकारले छालाको रोग, स्त्रीरोग, सर्जरी र मानसिक रोगको उपचारका लागि भने बाहिरबाट चिकित्सक बोलाएर सेवा दिँदै आएको अस्पतालले जनाएको छ ।

-गोरखापत्रबाट

  • २० मंसिर २०८०, बुधबार १५:३२ प्रकाशित
  • Nabintech