१९ मंसिर, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले रातो नम्बर प्लेटका इ-रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध लगाउन यसअघि गरेको निर्णय मङ्गलबारदेखि कार्यान्वयनमा ल्याएको छ ।
प्रहरी र नगर प्रहरीसहितको टोलीले निर्णय कार्यान्वयनका लागि मङ्गलबार नेपालगन्जका विभिन्न स्थानबाट १३७ वटा रातो नम्बर प्लेटका रिक्सा नियन्त्रणमा लिएको नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिए ।
नगर प्रहरी निरीक्षक बोगटीले भने, ‘‘१५ दिने सूचना जारी गरिएपनि अटेर गरी यात्रु बोक्ने कार्य जारी राखेकाले आवश्यक कारबाहीका लागि नियन्त्रणका लिएका छौँ ।’’ नियन्त्रणमा राखिएका रिक्सा जिल्ला प्रशासन कार्यालय र गणेशमान चोकस्थित लागू औषध नियन्त्रण इकाई परिसरमा राखिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा कात्तिक २४ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारबालाबिचको बैठकमा निजी प्रयोजनका लागि खरिद गरिएका रातो नम्बर प्लेटका इ-रिक्सामा यात्रु बोक्ने क्रम बढेकाले त्यसमा यात्रु बोक्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
रातोलाई कालो नम्बर प्लेट बनाउनका लागि लागि १५ दिने सूचना जारी भएकोमा त्यसलाई अटेर गर्दै रातो नम्बर प्लेटबाट नै यात्रु बोक्ने कार्य गरिरहेका इ-रिक्सा नियन्त्रणमा लिइएको हो । नगर क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ-रिक्सा रातो नम्बर प्लेटमा चलिरहेकाले ती इ-रिक्सालाई कालो नम्बर प्लेट बनाउनका लागि सम्बन्धित सवारी धनीलाई जानकारी गराउन १५ दिने सूचना जारी प्रकाशन भएको थियो ।
-गोरखापत्रबाट
१९ मंसिर २०८०, मंगलवार १७:१२ प्रकाशित